काठमाडौं, असौज ५ : सिरियाको उत्तरी क्षेत्रस्थित अलेप्पो प्रान्तको अल-ऐस सहरमा सोमबार बिहानै शृङ्खलाबद्ध विष्फोट भएका छन् । सिरियाली सरकारी टेलिभिजन ‘अल-इखबरिया’ लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार स्थानीय रक्षा मन्त्रालयसँग सम्बद्ध एक हतियार डिपोलाई लक्षित गरी ती विष्फोटहरू भएका हुन् ।
विष्फोटबाट भएको मानवीय तथा भौतिक क्षतिको आधिकारिक विवरण आउन बाँकी छ । घटनालगत्तै सम्बन्धित निकायले सो क्षेत्रको अवस्थाबारे थप जानकारी सङ्कलन गरिरहेको जनाइएको छ ।
केही स्थानीय स्रोत तथा सञ्चारमाध्यमहरूले उक्त विष्फोट इजरायली हवाई हमलाका कारण भएको आशंका गरेका छन् । लक्षित डिपो टर्की समर्थित समूहका हतियारहरू भण्डारण गर्न प्रयोग हुँदै आएको दाबी समेत गरिएको छ। यद्यपि इजरायली हमला र हतियार डिपोबारे गरिएका यी दाबीहरूको पुष्टि हुन बाँकी छ ।












