महोत्तरी : विशेष अदालतले भ्रष्टाचार मुद्दामा मधेस प्रदेशका निलम्बित प्रदेशसभा सदस्य सरोजकुमार सिंह कुशवाहालाई दोषी ठहर गर्दै चार वर्ष एक महिना कैद तथा ३८ लाख ५० हजार १३९ जरिवाना हुने फैसला सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले मङ्गलबार उक्त फैसला सुनाएको हो ।
अदालतले ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ बमोजिम सिंहबाट १ लाख ५४ हजार पाँच रुपैयाँ ५६ पैसा क्षतिपूर्ति शुल्क असुल गरी ‘पीडित राहत कोष’मा जम्मा गर्न आदेश दिएको छ । साथै घुस बापत लिएको ३८ लाख ५० हजार १३९ सरकारी कोषमा जफत गर्न पनि निर्देशन दिएको छ ।
महोत्तरी निर्वाचन क्षेत्र नं ४ ख बाट निर्वाचित प्रदेशसभा सदस्य सिंहले विभिन्न उपभोक्ता समितिहरूबाट घुस तथा कमिसनबापत ३८ लाख ५० हजार १३९ लिएको पुष्टि भएको अदालतले जनाएको छ ।
उक्त रकम लिएको सम्बन्धमा प्रतिवादीले विवाद नगरेकाले अदालतले सोही रकमलाई भ्रष्टाचारको बिगो कायम गरेको जनाएको छ ।
अभियोगअनुसार उपभोक्ता समितिका खातामा जम्मा भएको रकम आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत झिक्न लगाई सिंहले आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा ३८ लाख ५० हजार १३९ जम्मा गरी हिनामिना गरेका थिए ।
यस प्रकरणमा विशेष अदालतले भ्रष्टाचार कसुर प्रमाणित भएको निष्कर्षसहित कैद, जरिवाना, क्षतिपूर्ति तथा रकम जफतको आदेश दिएको हो ।









