काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले पार्टी परित्यागको औपचारिक घोषणा गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राणाले अब नयाँ राजनीतिक दल गठन गर्ने घोषणा पनि गरेका छन् । पत्रकार सम्मेलनमा उनले राप्रपा नेतृत्वले पार्टीको मूल एजेन्डालाई जोगाउन नसकेको र आन्तरिक लोकतन्त्रलाई उपेक्षा गरेको आरोप लगाउँदै नयाँ बाटो रोज्नुपरेको बताए । नयाँ पार्टीको अवधारणा सार्वजनिक गर्दै नेता राणाले आफूले स्थापना गर्न लागेको दलको मुख्य आधार ‘राजासहितको प्रजातन्त्र’ हुने स्पष्ट पारे । उनले भने, ‘मैले पार्टी खोलेको होइन, यो घर छोडेर अर्को बलियो राष्ट्रवादी घर निर्माण गर्न गइरहेको छु, जसमा राजासहितको प्रजातन्त्र हुनेछ ।’ नेता राणाले राप्रपाभित्रको कार्यसम्पादन समिति र कार्यसमितिले जेठभित्र महाधिवेशन गर्ने निर्णय गरे पनि नेतृत्वले चासो नदेखाएको बताए । ‘महाधिवेशन नगर्ने दिशामा गएपछि मैले धेरै पटक आवाज उठाएको थिएँ, तर नेतृत्व सुध्रने संकेत देखिएन,’ उनले भने । पछिल्ला निर्वाचनहरूमा पार्टीको खस्कँदो अवस्था र आगामी स्थानीय तह निर्वाचनसम्म उम्मेदवारसमेत नपाउने स्थिति आउन लागेकोले आफूले विद्रोह गर्नुपरेको उनको तर्क छ ।









