काठमाडौँ : सगरमाथाको खतरनाक खुम्बु आइसफल क्षेत्रमा सात दिनसम्म हराएका ओखलढुंगाका ५७ वर्षीय दावा शेर्पा अन्ततः जीवितै फेला परेका छन्।
हिउँको अन्धकार, अक्सिजनको कमी र कठोर चिसोबीच उनले गरेको संघर्षलाई उद्धारकर्ताहरूले “अविश्वसनीय जीवित यात्रा” भनेर वर्णन गरेका छन्।
चैत १३ गते काठमाडौँको रामहिटीबाट ‘हिमालयन ट्राभल्स एडभेन्चर’ कम्पनीमार्फत उनी सगरमाथा क्षेत्रतर्फ गएका थिए । कुकको रूपमा काम गर्ने दावा शेर्पा हिमालतर्फ उक्लिएका थिए । परिवारका अनुसार उनी क्याम्प १ र क्याम्प २ क्षेत्रमा देखिएका थिए । तर क्याम्प ४ तर्फ जाने क्रममा उनी अचानक सम्पर्क विहीन भए ।

दावाकी श्रीमती डमु शेर्पाका अनुसार कम्पनीले सुरुका दिनहरूमा स्पष्ट जानकारी दिन सकेन । कहिले क्याम्प ३, कहिले क्याम्प ४ वरिपरि देखिएको भनियो तर वास्तविक अवस्था परिवारसम्म स्पष्ट रूपमा पुगेन । तीन दिनभन्दा बढी समयसम्म बेपत्ताको औपचारिक जानकारी नै नदिएको परिवारको आरोप छ ।
यसैबीच, हिमालको कठोर भू–भागमा दावाले आफ्नो जीवनका कठिन घडीहरू सामना गरे । घिस्रिँदै उनी क्याम्प ३ सम्म पुगेका थिए, जहाँ उनले केही खानेकुरा भेट्टाएर खाए । त्यसपछि तल झर्ने क्रममा उनी एक खोँचभित्र रातभर आश्रय लिएर बसे।
भोलिपल्ट बिहान खुम्बु आइसफल क्षेत्रमा हिमाल सफा गर्ने कार्यमा खटिएको ६ जनाको टोलीले उनलाई फेला पारेको हो । सगरमाथा आधार शिविर नजिकैको क्याम्पोन पोइन्ट क्षेत्रमा उनी हिउँमा घिस्रिरहेको अवस्थामा देखिएका थिए ।
टोलीले तत्काल उनलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको थियो । उद्धारपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याई ह्याम्स अस्पतालमा भर्ना गरिएको छ ।
चिकित्सकका अनुसार उनको अवस्था अहिले स्थिर छ तर हात र खुट्टामा गम्भीर फ्रस्टबाइट देखिएको छ । संवेदनशीलता फर्काउन तातो पानीसहितको विशेष उपचार जारी छ।
यसैबीच, सगरमाथा आरोहणका क्रममा हराएको घटनाबारे पर्यटन विभागले छानबिन गर्ने तयारी गरेको छ । घटनाले हिमाली क्षेत्रमा काम गर्ने श्रमिकहरूको सुरक्षा र व्यवस्थापनबारे फेरि प्रश्न उठाएको छ ।









