काठमाण्डौ । अमेरिकाको एटलान्टामा भएको एउटा अत्यन्तै तनावपूर्ण र आक्रामक सेमिफाइनलमा ६ मिनेट २४ सेकेन्डको अन्तरालमा दुई गोल गर्दै अर्जेन्टिनाले इंग्ल्यान्डलाई स्तब्ध पार्यो ।
यससँगै आगामी आइतबार राति न्युजर्सीको मेटलाइफ स्टेडियममा हुने विश्वकप फाइनलमा अब लिओनल मेसीको कप्तानीमा अर्जेन्टिनाले स्पेनको सामना गर्नेछ ।
खेलको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गरेपछि इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक फाइनल पुग्ने सँघारमा देखिएको थियो ।
तर, खेल सकिन ५ मिनेट बाँकी रहँदा एन्जो फर्नान्डेजले डि-बक्स बाहिरबाट एउटा सानदार गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले हेडमार्फत निर्णायक गोल गरे । यी दुवै गोलमा मेसीले ‘असिस्ट’ उपलब्ध गराएका थिए ।
यस प्रतियोगितामा अर्जेन्टिनाले ७५औँ मिनेटपछि मात्र ११ गोल गरिसकेको छ, जसले उनीहरूको अन्त्यसम्म लड्ने क्षमतालाई दर्शाउँछ ।

२१ वर्षपछि आमनेसामने भएका यी दुई टोलीबीचको खेलमा फुटबल मात्र थिएन, ऐतिहासिक विवाद र ‘फाकल्याण्ड युद्ध’ को छायाँ पनि प्रस्ट देखिन्थ्यो। अर्जेन्टिनी समर्थकहरूले इंग्ल्यान्डको राष्ट्रिय गानका बेला गरेको हुटिङले खेलको तापक्रम सुरुवातमै बढाएको थियो । खेलको अन्त्यमा अर्जेन्टिनाका केही खेलाडीले मैदानमा फाकल्याण्ड टापूको ब्यानर समेत देखाएका थिए । खेल यति आक्रामक थियो कि पहिलो ३० मिनेटमा १२ वटा फाउल भए तर गोलका लागि एउटा पनि प्रहार हुन सकेन । यो सन् १९६६ पछिको विश्वकप इतिहासमा एउटा रेकर्ड हो। इंग्ल्यान्डका इलियट एण्डरसन र अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजले पहिलो हाफमै पहेँलो कार्ड पाएका थिए ।
इंग्ल्यान्डले १-० को अग्रता लिएपछि प्रशिक्षक थोमस टुचेलले टोलीलाई रक्षात्मक। यही नै इंग्ल्यान्डका लागि प्रत्युत्पादक बन्यो। अर्जेन्टिनाले लगातार आक्रमण बुनेपछि इंग्ल्यान्डको रक्षापंक्ति अन्ततः भत्कियो । ३९ वर्ष नाघेका मेसी खेलको अन्त्यतिर थकित देखिएका थिए । १८ वर्ष कान्छा इङ्लिस खेलाडी निको ओ’रेलीसँग बल खोस्न दौडिँदा उनी गलेका देखिन्थे । तर, जब टिमलाई उनको खाँचो पर्यो, उनले आफ्नो जादु देखाइहाले। उनले आफैँ गोल नगरे पनि आफ्ना दुई सटीक पासमार्फत खेलको नतिजा नै बदलिदिए ।
अमेरिकी रेफ्री इस्माइल एल्फाथले यो कठिन र तनावपूर्ण खेललाई निकै कुशलतापूर्वक नियन्त्रणमा राखे। उनले खेलको सुरुमा तनाव बढ्न दिएनन् र पछि कार्डको सही प्रयोग गरे । सन् १९९० र २०१८ का सेमिफाइनल जस्तै यसपटक पनि इंग्ल्यान्ड जितको निकै नजिक पुगेर निराश हुनुपर्यो ।












