काठमाडौँ । व्यवसायी दुर्गा प्रसाई र नेता डा. धवल शमशेर राणाको नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।
नेता सगुन लावतीका अनुसार आगामी साउन २८ गते निर्वाचन आयोगमा पुगेर दल दर्ताको औपचारिक प्रक्रिया पूरा गर्ने निर्णय भएको हो ।
प्रस्तावित नयाँ दलमा राणालाई अध्यक्ष र प्रसाईलाई सर्वोच्च नेताको जिम्मेवारी दिने सहमति भएको छ । उनका अनुसार साउन २८ गते दल दर्ताका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी निर्वाचन आयोगमा निवेदन दिइनेछ । यो पार्टीले राष्ट्रवादी विचारधारालाई मुख्य एजेन्डा बनाउने र देशको समसामयिक राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्ने दाबी गरिएको छ । लामो समयदेखि छुट्टाछुट्टै अभियान र दलमा सक्रिय रहेका प्रसाई र राणाको यो नयाँ सहकार्यलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । विशेषगरी राष्ट्रवादी शक्तिहरूलाई एकजुट बनाउने उद्देश्यले यो दल गठन गर्न लागिएको बताइएको छ ।












