काठमाण्डौ,श्रावण ३१ : भारतीय सेनाका प्रधान सेनापति धिरज सेठ नेपाल आउँदैछन् ।
आइतबार अपराह्न ४ बजेतिर उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका प्रवक्ता एवं सहायक रथि राजाराम बस्नेतका अनुसार उनी चार दिने भ्रमणमा काठमाडौं आउन लागेका हुन् ।
सोमबार प्रधान सेनापति सेठले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ महारथीको दर्जा ग्रहण गर्ने कार्यक्रम रहेको प्रवक्ता बस्नेतले जानकारी दिए ।
नेपाल-भारतबीच सन् १९५० देखि एक अर्काको देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ । उनी गत जुन ३०मा भारतको ३१औं प्रधान सेनापति नियुक्त भएका थिए।
उनले प्रधानमन्त्री एवं रक्षामन्त्रीसमेत रहेका बालेन्द्र शाहसँग पनि भेट्ने सम्भावना छ । प्रवक्ता बस्नेतले भेटका लागि पत्राचार गरिएको भए पनि जबाफ प्राप्त भइनसकेको बताए । ‘प्रधानमन्त्रीसँग भेटका लागि पत्र पठाएका छौं। जबाफ आइसकेको छैन,’ उनले भने।












