काठमाडौं भदौ २ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज एमएस पालसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले कर अधिकृत पाल र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । आर्थिक वर्ष २०७८/७९ देखि लेखापरीक्षणलगायत कर निर्धारणको काम गरी कर फर्छ्यौट गराइदिने भन्दै सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिएको अनुसन्धानबाट पुष्टि भएको अख्तियारले जनाएको छ ।
अख्तियारको टोलीले केही समयअघि कर अधिकृत पाललाई ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।अनुसन्धानका क्रममा पाल र यादवको मिलेमतोमा सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि दुवैजनाविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर गरिएको अख्तियारले लालबिहानीलाई बताए ।












