२०८३ भाद्र २६ शुक्रबार
Search
२०८३ भाद्र २६ शुक्रबार

भग्नावशेषमा घर खोज्दै अबोध नानीहरू

कोहलपुर , भदौ ८  : रोशनी बुढालाई घरको अर्थको ठूलो व्याख्या थाहा छैन। न उनलाई नक्सा कोर्न आउँछ, न इँटा र ढुंगाले बलियो पर्खाल कसरी बनाइन्छ भन्ने नै थाहा छ। उनलाई यत्तिमात्र थाहा छ, घर भनेको त्यो ठाउँ हो, जहाँ रात परेपछि आमाबुवासँग सुत्न पाइन्छ, बिहान उठेर खान पाइन्छ र त्यसपछि विद्यालय पढन जान पाइन्छ।

तर रोशनीसँग हाल त्यो घर छैन। कोहलपुर शान्तिनगरमा रहेको आफ्नो पुरानो घर भत्काइएको चार महिनापछि ९ वर्षीया रोशनी फेरि त्यही ठाउँमा पुगिन् । उनी एक्लै थिइनन्। उनीसँगै उनका तीन साथी ढललक्ष्मी रावल, जया विष्ट र भैपुरा विष्ट पनि साथमा थिए।

उनीहरू पुगेको ठाउँमा पहिलेको सग्लो घर त थिएन नै। घरको नामोनिसान पनि थिएन। चारैतिर डोजरले भत्काएका पर्खालका टुक्रा, फुटेका इँटा, ढुंगा र भग्नावशेषमात्रै यत्रतत्र छरिएका थिए। तर चारजना बालिकाका आँखाले त्यही भग्नावशेषभित्र आफ्नो घर खोजिरहेका थिए। ‘के खोज्दैछौ तिमीहरू ?’ लालबिहानीको प्रश्न सुनेपछि इँटाका टुक्रा बटुलेर भत्किएको पर्खालजस्तो बनाउन खोजिरहेकी रोशनीले पुलुक्क हेरिन्। अनि सहजै भनिन् ‘यो त हाम्रो घर हो । यही बस्थ्यौं हामी। अहिले कतै बस्ने ठाउँ छैन । घर बनाउँदैछौं ।’

उनको जवाफमा कुनै गुनासो थिएन । न कुनै आक्रोश । बरु घर नहुँदा भोग्नु परेको कष्टकर अवस्थाको सरल स्वीकारोक्ति थियो । डोजरले केही घण्टामै भत्काएको घर रोशनी भने आफ्ना साना हातले फेरि बनाउन खोजिरहेकी थिइन् । उनी इँटा टिप्छिन् । ढुंगा मिलाउँछिन् । एउटा इँटा अर्कोमाथि राख्छिन् । छरिएका टुक्रालाई जोडेर भित्ताको आकार दिन खोज्छिन् । उनलाई लाग्छ इँटा मिलाउँदै गएपछि फेरि घर बन्छ । तर दिवाल अग्लो हुनासाथ फेरि भत्किन्थ्यो। 

फेरि बनाउन थाल्थे । उनी यहाँ खेलिरहेकी थिइनन् । यो कुनै खेलौनाको घर पनि होइन । बालबालिकाले खेल्ने घर बनाउने खेल पनि होइन। उनीहरूले बनाउँदै गरेको यो घर स्थानीय सरकारले डोजर लगाएर भत्काइदिएको आफ्नै घरको सम्झना हो ।

‘तिमीहरू चारैजनाको घर यहीँ हो ?’ अर्को प्रश्नमा ‘हैन,’ ढललक्ष्मी रावलले करिब २० मिटर उत्तरतिर आफनो भत्केको घर देखाउँदै भनिन्, ‘रोशनीको मात्र हो । मेरो घर त उता हो।’ उनले देखाएको ठाउँमा पनि रोशनीको घरको जस्तै भग्नावशेषमात्रै थियो । जया विष्ट र भैपुरा विष्टको घर पनि रोशनीको भग्नावशेषसँगै जोडिएको छ । उनीहरू दिदीबहिनी होइनन्। मन मिल्ने साथी हुन् । आइतबार उनीहरू रोशनीको घरको भग्नावशेषमा इँटा मिलाउँदै थिए । उनीहरूको योजना रहेछ आज रोशनीको घरको भित्ता लगाउने, अर्को दिन ढललक्ष्मीको, अनि पालैपालो चारै जनाको भत्किएको घरको ठाउँमा ‘दिवाल’ लगाउने । चार बालिका। चार भग्नावशेष। अनि एउटा साझा सपना । फेरि घर बनाउने । 

तर उनीहरूले लगाएको त्यो भित्ता कतैबाट पनि सुरक्षित घर बन्ने अवस्था थिएन । त्यो त भत्किएका इँटाहरूलाई फेरि एक ठाउँमा मिलाएर बालमनले कोरेको घरको आकृतिमात्र थियो ।

रोशनी कक्षा ३ मा पढ्छिन्। घर भत्किएपछि उनको पढाइसमेत प्रभावित भएको छ। विद्यालय जाने उमेरमा उनी किताब–कापी बोकेर कक्षाकोठातिर जानुपर्ने हो । तर अहिले उनका पाइला बारम्बार त्यही भग्नावशेषतिर पुग्छन् । जहाँ उनको घर थियो । विद्यालय उनको भविष्यतर्फ जाने बाटो हो । तर त्यो बाटो हिँड्नका लागि उनको वर्तमानमा सुरक्षित बास नै छैन । घर नभएपछि पढाइ कसरी नियमित हुन्छ ? सन्तानको भविष्य पनि खण्डहर जस्तो भएको गुनासो गर्दै ललिता डाँगीले भनिन्, ‘कसैका बालबालिका स्कुल जान्छन् कसैका जाँदैनन् । फि तिर्ने पैसा छैन। बस्ने बास छैन।’ 

घर गुमाएपछि विद्यालयसमेत टाढिँदै गएको पीडा रोशनीले महसुस गर्न थालेकी छन् । ढललक्ष्मी रावल, जया विष्ट र भैपुरा विष्ट यूकेजीमा पढ्दै थिए । उनीहरूको बाल्यकाल पनि विद्यालय, खेल र घरको वरिपरि बित्नुपर्ने थियो। तर अहिले उनीहरूका हातमा किताबभन्दा फुटेका इँटाका टुक्रा बढी देखिन्छन्।

कहिले भग्नावशेषभित्र पसेर केही खोज्छन्। कहिले इँटा बटुल्छन् । कहिले ढुंगा मिलाउँछन् । अनि कहिले आफूले बनाएको सानो पर्खालतिर हेरेर चुपचाप उभिन्छन् । उनीहरूको अनुहारमा बाल्यकालको चञ्चलताभन्दा हराएको घर र अनिश्चित भविश्य झल्किन्छ । उनीहरू सबैलाई एउटा कुरा थाहा छ भत्काइएको ठाँउमा उनीहरूको घर थियो। अर्को कुरा पनि थाहा छ, अहिले त्यो घर छैन । तर अब कहाँ जाने ? उनीहरूको प्रश्नको उत्तर कसैसँग छैन ।
बालिकाहरूका अनुसार प्रहरी आएको थियो । डोजर लगाएर घर भत्काइदियो। घरसँगै उनीहरूको बस्ने ठाउँ पनि गयो । अब कहाँ बस्ने, कहिलेसम्म यसरी बस्ने र फेरि घर कहिले बन्छ ? उनीहरू बस्तीमा उनीहरूको अवस्था बुझ्न जानेहरूसँग प्रश्न गर्छन् । 

शान्तिनगरको यो दृश्यले एउटा गम्भीर प्रश्न उठाएको छ। सार्वजनिक जमिनको संरक्षण, व्यवस्थापन वा अन्य कुनै कारण देखाएर गरिने कारबाहीको सबैभन्दा ठूलो मूल्य कतै यी बालबालिकाले त तिरिरहेका छैनन् ? 

किनकि घर भत्किँदा केवल इँटा, टिन र काठ भत्किँदैनन्। त्यससँगै बालबालिकाको पढाइ भत्किन्छ। उनीहरूको सुरक्षित निद्रा भत्किन्छ। खेल्ने ठाउँ भत्किन्छ। बाल्यकालको सुरक्षा भत्किन्छ। अनि विस्तारै भविष्यप्रतिको भरोसा पनि भत्किन सक्छ। डोजरले दुई दिनमै एउटा बस्तीको स्वरूप बदलिदियो। तर त्यस बस्तीमा बसेका बालबालिकाको मनमा बनेको ‘घर’ भत्काउन र फेरि बनाउन त्यति सजिलो छैन। शान्तिनगरको त्यो भग्नावशेषमा यस्ता १ हजार ४ सय बालबालिका अझै इँटा खोजिरहेका छन् । यसरी कहिलेसम्म खोजिरहने त्यो पनि उनीहरूलाई थाहा छैन । कयौं बालिबालिकालाई फुटेका इँटाभित्र खोजिरहेको घर अब त्यहाँ छैन भन्ने कुरासमेत थाहा छैन । तर उनीहरूको सानो प्रयासले सरकार र समाजसँग एउटा ठूलो प्रश्न भने गरिरहेको छ । ‘हामीलाई बस्ने घर कसले बनाइदिन्छ ?’ 

कोहलपुर नगरपालिका–शान्तिनगरमा बस्दै आएका भूमिहीन तथा सुकुम्बासी परिवारका घरटहरा वैशाख २६ र २७ गते स्थानीय सरकारले डोजर लगाएर भत्काएपछि त्यहाँ बस्दै आएका परिवारहरू बासविहीन बनेका छन् । अहिले त्यही भग्नावशेषमा चार बालिका आफ्ना हराएका घर खोजिरहेका ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।