काठमाडौं,असौज १ : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ९ लाख घुससहित नापी अधिकृत पक्राउ गरेको छ। आयोगले काठमाडौंको नापी कार्यालय डिल्लीबजार अन्तर्गत ३ नम्बर नापी टोली,माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वलीलाई घुससहित नियन्त्रणमा लिएको हो ।

छुट जग्गा दर्ता सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय,मनमैजुमा पठाउन अनावश्यक दुःख,हैरानी दिई घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियारको टोलीले वलीलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले लालबिहानीलाई बताए ।

अख्तियारका अनुसार वलीलाई घुसबापत ९ लाख रुपैयाँ लिइसकेको अवस्थामा बुधबार काठमाडौंको टोखा नगरपालिका-५, वसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट पक्राउ गरिएको हो ।
वलीविरुद्ध घुस/रिसवत भ्रष्टाचारसम्बन्धी मुद्दामा बिहीबार विशेष अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।












