सुर्खेत ,असौज १९ : कर्णाली प्रदेशमा आगामी मंसिर १६ देखि २७ सम्म दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता कर्णाली प्रदेशका अधिकांश जिल्लामा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । प्रतियोगितामा महिला तथा पुरुषका विभिन्न विधासहित ३२ खेल समावेश गरिने भएका छन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) सहित ११ टोलीका खेलाडी सहभागी हुनेछन् ।
आइतबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा समावेश गरिने खेल, प्रस्तावित खेलस्थल र तयारीबारे जानकारी गराइएको हो । राष्ट्रिय खेलकुद परिषद् र कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगिता निर्धारित मितिमै सम्पन्न गर्ने गरी तयारी अघि बढाएको जनाएका कर्णालीका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले लालबिहानी लाई बताए ।

प्रतियोगितामा करिब छ हजार पाँच सय खेलाडी सहभागी हुने अनुमान गरिएको छ । खेलाडीसँगै प्रशिक्षक, व्यवस्थापक, निर्णायक, प्राविधिक तथा अन्य पदाधिकारीको समेत सहभागिता रहनेछ ।
प्रतियोगितामा एथलेटिक्स, कुस्ती, कबड्डी, ब्याडमिन्टन, बक्सिङ, कराते, बास्केटबल, फुल कन्ट्याक्ट कराते, आईटीएफ तेक्वान्दो, शारीरिक सुगठन, क्रिकेट, टेबलटेनिस, फुटबल, बुद्धिचाल र ह्यान्डबललगायतका खेल समावेश गरिएका छन् । त्यस्तै हक्की, जुडो, ई–स्पोर्ट्स, खोखो, स्क्वास, रग्बी, सुटिङ, पौडी, साइक्लिङ, तेक्वान्दो, टेनिस, भलिबल, आर्चरी, उसु, जिम्न्यास्टिक, भारोत्तोलन र सेपाकताक्रो पनि प्रतियोगितामा समावेश गर्ने प्रस्ताव गरिएको छ ।












