काठमाण्डौ,असोज २३ : बुढानीलकण्ठबाट प्रहरीले बरामद गरेको सुनको परिमाण २१ किलो ७५० ग्राम यकिन गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार मध्यान्ह बुढानीलकण्ठस्थित चपलीबाट सुन बरामद गरेको हो ।
सुन तस्करीमा संलग्न ३ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सुन बरामद भएको घर गएको साउनदेखि तस्कर समूहले भाडामा लिएको भेटिएको छ । अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृत भन्छन्, ‘२०८३ साउनदेखि घर भाडामा लिएको भेटिएको छ ।’

पक्राउ परेका चिनियाँ नागरिकहरूलाई प्रहरीले दोभासेको सहयोग लिएर सोधपुछ गरिरहेको छ । तर, चिनियाँले आफ्नो कुरा बताउन अस्वीकार गर्दै आएका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले सुन हवाई मार्ग हुँदै काठमाडौँ ल्याएको देखाएको छ । पक्राउ पर्नेहरूको मोबाइल परीक्षण गरेपछि त्यसबारे यकिन हुने अधिकृतहरू बताउँछन् ।
अर्धठोस सुन ल्याएर बुढानीलकण्ठमा प्रशोधन गरेर बिस्कुट आकारको ढिका बनाउने गरिएको थियो । प्रहरीले ११ वटा तयारी बिस्कुट र १० केजी ७५२ ग्राम अर्धठोस सुन बरामद गरेको छ । प्रहरीले सुन जोख्ने डिजिटल तराजु र सुन प्रशोधन गर्ने उच्च तापक्रमयुक्त भट्टी लगायतका सामग्री बरामद गरेको छ ।
प्रशोधन गरिएको सुन लिएर गाडीमा निस्कँदै गर्दा प्रहरीले चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो । सो गाडी भाडामा लिएर तस्कर समूहले प्रयोग गरेको भेटिएको छ ।












