काठमाण्डौ,असोज २४ : अमेरिकाको फ्लोरिडा राज्यमा शक्तिशाली समुद्री आँधी ‘इसायस’ले जमिनमा प्रवेश गरेपछि बाढी र तीव्र हावाहुरीको जोखिम बढेको छ । आँधीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै फ्लोरिडा, अलाबामा र जर्जियामा आपत्काल घोषणा गरिएको छ भने तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ ।
शुक्रबार साँझ फ्लोरिडाको पश्चिमी प्यानह्यान्डल क्षेत्रमा प्रवेश गर्नुअघि इसायस केही कमजोर हुँदै दोस्रो श्रेणीको आँधीमा झरेको थियो । त्यतिबेला आँधीको हावाको गति प्रतिघण्टा ११० माइल अर्थात् करिब १७७ किलोमिटर थियो ।अमेरिकी मौसमविद्हरूले केही क्षेत्रमा समुद्री पानीको सतह बढेर ९ फिट अर्थात् करिब २.७ मिटर उचाइसम्म बाढी आउन सक्ने चेतावनी दिएका छन् । आँधीसँगै भारी वर्षा, तीव्र हावाहुरी र टोर्नाडोको जोखिमसमेत रहेको बताइएको छ ।
अमेरिकी राष्ट्रिय मौसम सेवाकी फ्लोरिडास्थित मौसमविद् मेलिसा वाट्सनका अनुसार फ्लोरिडाको प्यानह्यान्डल र मेक्सिकोको खाडी आसपासका क्षेत्रमा तीव्र हावाहुरी र भारी वर्षाको जोखिम छ ।












