काठमाण्डौ, कार्तिक २ : बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित बुचाकोट (दुबैगैंडा) नजिकै ईभी हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
झापाबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस सोमबार बिहान करिब २:२५ बजे अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो।
दुर्घटनाको खबर पाउनासाथ प्रहरी चौकी भकुण्डेबेँसीबाट प्रहरी नायब निरीक्षक प्रकाश पाण्डे र अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेको कमान्डमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रबिन बिष्टले लालबिहानीलाई जानकारी दिए । उद्धार गरिएका तीनै जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।
घाइते हुनेहरूमा हायस चालक इलाम नगरपालिका–६ का ३७ वर्षीय लोकबहादुर सेन्चुरी, काभ्रेको भुम्लु गाउँपालिका–७ की २६ वर्षीया रिता चापाँगाई र उनका ९ वर्षीय छोरा रितिक चापाँगाई रहेका छन् ।
प्रारम्भिक जानकारीअनुसार घाइते तीनै जनाको अवस्था सामान्य रहेको छ। दुर्घटनाको थप विवरण तथा कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।












