काठमाण्डौ,कार्तिक २७ : कोशी प्रदेशमा प्रदेश प्रमुखको पद रिक्त भए पनि नयाँ नियुक्ति हुन सकेको छैन। पाँच बर्से कार्यकाल पूरा गरेर परशुराम खापुङ बिदा भएका हुन् । तर, नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने वा अर्को प्रदेशका प्रमुखलाई कोशीको समेत जिम्मेवारी दिने भन्ने विषयमा सरकारले र राष्ट्रपतिले कुनै निर्णय गरेका छैनन् ।
कार्तिक २४ गतेदेखि प्रदेश प्रमुखविहीन बनेको कोशीमा संवैधानिक जिम्मेवारीको व्यवस्थापनसमेत अन्योलमा परेको छ। प्रदेश प्रमुखको अनुपस्थितिले प्रदेश सरकारको दैनिक प्रशासनिक काममा तत्काल अवरोध नपरे पनि सरकार गठन, प्रदेशसभाको अधिवेशन आह्वान तथा विधेयक प्रमाणीकरणजस्ता महत्वपूर्ण संवैधानिक काममा भने समस्या आउन सक्ने देखिएको छ ।
संविधानले प्रदेश प्रमुखको पद रिक्त भएको अवस्थामा कामकाज सञ्चालन गर्ने विकल्प दिएको छ। संविधानको धारा १६५ को उपधारा (२) अनुसार नयाँ प्रदेश प्रमुख नियुक्त नभएसम्म राष्ट्रपतिले अर्को प्रदेशको प्रदेश प्रमुखलाई कोशीको समेत कामकाज गर्ने गरी जिम्मेवारी तोक्न सक्छन्। तर, यसका लागि राष्ट्रपतिबाट औपचारिक निर्णय हुनुपर्छ। अर्को प्रदेशको प्रमुखले स्वतः कोशीको जिम्मेवारी पाउने व्यवस्था छैन।












