काठमाण्डौ, कार्तिक २७ :आइतबारदेखि पश्चिमी वायुको प्रभाव बढ्ने र त्यसका कारण देशका पश्चिमी क्षेत्रका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार शुक्रबार र शनिबार देशभरको मौसम सामान्यतया सफा रहनेछ । यी दुई दिन पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि ठूलो मौसमी परिवर्तनको सम्भावना छैन ।
तर आइतबारदेखि पश्चिमी वायुको प्रभावका कारण मौसममा परिवर्तन आउने उनले बताइन्। विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपात हुन सक्ने छ। यसको प्रभाव गण्डकी प्रदेशसम्म फैलिन सक्ने अनुमान छ ।
त्यस्तै, बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि छिटपुट वर्षा हुन सक्ने सम्भावना रहेको उनले जानकारी दिइन् । वर्षासँगै केही स्थानमा मेघगर्जन, चट्याङ र असिना पनि पर्न सक्ने भएकाले किसानलाई विशेष सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।












