काठमाडौं । पोखराको सिर्जना चोकस्थित ‘मनिका रेष्टुरेन्ट’को आवरणमा यौन व्यवसाय सञ्चालन गरिएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रेष्टुरेन्ट सञ्चालक ४० वर्षीय पदम लुङ्बा, पोखरा मालेपाटनका ५१ वर्षीय तेज नारायण तिमिल्सिना, र तनहुँको व्यास नगरपालिका–५ का २१ वर्षीय सलन गुरुङ रहेका छन्।
प्रहरीले सो रेष्टुरेन्टमा छापा मार्दा पाँच जना महिलालाई उद्धार गरेको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरि बस्नेतले जानकारी दिए। उद्धार गरिएका महिलाहरूलाई सुरक्षित स्थानमा राखेर आवश्यक प्रक्रिया अगाडि बढाइएको छ। पक्राउ परेका तीनै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। त्यसका लागि कास्की जिल्ला अदालतबाट छ दिनको म्याद लिइएको छ। हरीका अनुसार रेष्टुरेन्ट सञ्चालनको नाममा अवैध यौन धन्दा चलाइएको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। यस घटनाले रेष्टुरेन्ट र होटेलहरूको नाममा लुकाइएका यस्ता आपराधिक क्रियाकलापबारे थप सतर्कता आवश्यक रहेको देखिएको छ।








