वालिङ, स्याङ्जा — फेदीखोला गाउँपालिकाले परम्परागत कृषि प्रणालीलाई संरक्षण गर्दै हलगोरु पाल्ने किसानलाई आर्थिक प्रोत्साहन स्वरूप प्रतिहल १० हजार रुपैयाँ अनुदान वितरण गरेको छ। गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीका अनुसार हाल गाउँगाउँमा हलगोरु पाल्ने चलन घट्दै गएको अवस्थामा किसानहरूको मनोबल बढाउन र दिगो, आत्मनिर्भर तथा सांस्कृतिक रूपमा समृद्ध कृषि अभ्यासलाई प्रवर्द्धन गर्न यो कार्यक्रम ल्याइएको हो। फेदीखोला गाउँपालिकाका पाँच वटै वडाबाट संकलित तथ्याङ्कअनुसार २२४ जना किसानहरू समेटिएका छन् र कुल २९० हलगोरुका लागि रु १४ लाख ४५ हजार अनुदान वितरण गरिएको छ।
पशुपक्षी विकास उपशाखाका प्रमुख भगवानदेव यादवले बताएअनुसार अनुदानको ७५ प्रतिशत गाउँपालिकाले र बाँकी २५ प्रतिशत किसानले लागत साझेदारी गरेका छन्। गाउँपालिकाले अनुदान दिनेसम्बन्धी सूचना सार्वजनिक गरेपछि किसानहरूको निवेदन संकलन गरिएको थियो। निवेदनको अनुगमन पश्चात् प्रमाणित किसानहरूको बैंक खातामा सिधै रकम जम्मा गरिने व्यवस्था गरिएको छ।
सुवेदीले भने, “परम्परागत यान्त्रिक जोताइको सट्टा वातावरणमैत्री विधिको प्रोत्साहन गर्दै हामीले गोरु पाल्ने किसानलाई यो अनुदान दिएको हो। यसले जैविक मल उत्पादन र सामूहिक श्रम संस्कृतिको पुनरुत्थानमा समेत सहयोग पुर्याउनेछ।” गाउँपालिकाले एकल किसानले पालेको हलगोरु वा दुई जना किसान मिलेर पालेको हलगोरु दुवैका लागि ७५ प्रतिशत अनुदान दिने नीति लागू गरेको छ। यो कार्यक्रम आर्थिक, सामाजिक, पर्यावरणीय र सांस्कृतिक दृष्टिले समेत प्रभावकारी हुने अपेक्षा गरिएको छ।








