काठमाडौं, असार ८ — ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी माओवादी नेतृ अमला रोकालाई प्रहरीले अदालतमा उपस्थित गराएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता एसपी युवराज खड्काले अमला रोकाविरुद्ध मुद्दा दर्ता भइसकेकोले उनलाई सरकारी वकिलमार्फत अदालतमा पेश गरिएको जानकारी दिएका छन्। रोकालाई सीआईबीले काठमाडौंको टोखाबाट गत शुक्रबार पक्राउ गरेको थियो। उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस समेत जारी गरिएको थियो। अमलाको नाममा ठमेलस्थित होटल भियाना दर्ता रहेको छ।
राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास गरी बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो। १९ दिनपछि थप अनुसन्धानका लागि फाइल सीआईबीलाई सुम्पिएको थियो। अमला रोकाले माओवादी नेताहरूसँग विवाह गरेपछि सुन तस्करीमा संलग्न दाबी छिरिङसँग सम्बन्ध बनाएकी थिइन्। रोकासहित तीन चिनियाँ नागरिकसँग हेलिकप्टरमार्फत गोसाइकुण्ड घुम्न गएको विषयमा पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुन पनि विवादमा आएका थिए। उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन समितिले पुनको बयान समेत लिएको थियो।








