रामेछाप, असार ८ — मन्थली नगरपालिका वडा नम्बर ६ कुनौरी र वडा नम्बर ७ भटौली मुगिटारलाई जोड्ने तामाकोशी नदीमाथि निर्माण भइरहेको मोटरेबल पुल दोस्रो पटक भाँचिएको छ। कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको उक्त पुलको एउटा स्ल्याब यसअघि वैशाख महिनामा पनि भाँचिएको थियो। पुनर्निर्माणको क्रममा आइतबार बिहान पुनः सोही स्ल्याब भत्किएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।
रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले पुलको एकतर्फको स्ल्याब पूर्णरुपमा भत्किएर तल खसेको बताए। यसअघि गरिएको अनुगमनमा समस्या देखिएपछि पुनर्निर्माण गर्न सल्लाह दिइएको थियो, तर पुनः मर्मत गर्ने क्रममा पुनः भाँचिएको हो। यो पुल २३० मिटर लामो र ११ मिटर चौडाइको डिजाइन एन्ड बिल्ड प्रकृतिको पुल हो। यसको निर्माण कार्य भदौ मसान्तसम्म सक्ने लक्ष्य राखिएको छ। पुल निर्माणका लागि ठेक्का रकम २२ करोड ५५ लाख ४० हजार रुपैयाँ तय गरिएको थियो, जसको ६० प्रतिशतभन्दा बढी रकम व्यवसायीले भुक्तानी लिइसकेको छ।
पुल निर्माण पूरा भएपछि मन्थली खुर्कोट हुँदै काठमाडौंसम्म लामो दूरीमा आवतजावत सहज हुनेछ भने मन्थली नगरपालिका–७ भटौलीसहित खाँडादेवी, दोरम्बा र शैलुङ गाउँपालिकाका वडामा पुग्न छोटो दूरी हुनेछ। पुनः भाँचिएपछि पुलको गुणस्तर र निर्माण व्यवस्थापनमा प्रश्न उठेका छन्। स्थानीय जनप्रतिनिधि र बासिन्दाहरूले जिम्मेवार निकायबाट शीघ्र सुधारको माग गरेका छन्।








