१४ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा समाजसेवी इन्जिनियर महेन्द्रबहादुर कार्की नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। कार्कीलाई शनिबार भक्तपुरमा आयोजित औपचारिक कार्यक्रममार्फत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरेका हुन्। इन्जिनियर कार्की विगत ५० वर्षदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहँदै आएका नेता हुन्। राजनीतिक क्षेत्रसँगै उनी विकास निर्माण, शिक्षा र समाजसेवा मा समेत सक्रिय भूमिका निभाउँदै आएका थिए। उनको माओवादी केन्द्र प्रवेशलाई कम्युनिस्ट एकताको संकेतस्वरूप पनि हेरिएको छ।
कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्डले कार्कीको आगमनले माओवादी आन्दोलनलाई थप बल पुग्ने विश्वास व्यक्त गरे। उनले भने, “देशलाई समाजवादको बाटोमा लैजान हामीलाई अनुभवी र इमान्दार नेताको साथ आवश्यक छ, इन्जिनियर कार्कीको योगदान हाम्रो यात्रामा महत्त्वपूर्ण हुनेछ।” कार्की हालसम्म नेकपा (एकीकृत समाजवादी) मा आबद्ध थिए। तर, पछिल्लो समय पार्टीभित्रको अन्तरिक असन्तुष्टि र रणनीतिक भिन्नता का कारण उनी अलगिएको बुझिएको छ। इन्जिनियर महेन्द्रबहादुर कार्कीको माओवादी केन्द्र प्रवेशले एकीकृत समाजवादी र माओवादीबीचको शक्ति सन्तुलनमा असर पार्नसक्ने अनुमान गरिएको छ। कम्युनिस्ट आन्दोलनमा दीर्घकालीन अनुभव बोकेका कार्कीको उपस्थितिले माओवादी पार्टीभित्र आन्तरिक संरचनागत सुदृढीकरणमा योगदान पुग्ने विश्वास गरिएको छ।








