१६ असार, विराटनगर । कोशी प्रदेशसभाको सोमबारको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ लाई प्रतिस्थापन गर्ने विधेयक, २०८२’ सदनमा टेबुल गरिएको छ। प्रदेशसभाका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी ले प्रस्तुत गरेको उक्त विधेयक सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ राखेका थिए। सदनले सर्वसम्मत रूपमा विधेयक टेबुल गर्ने निर्णय गरेको र छिट्टै यसमा छलफल सुरु हुने प्रदेशसभा सचिवालयका उपसचिव गौतमराज अमात्यले जानकारी दिए। छलफलपछि मन्त्री भण्डारीले आजै जवाफ दिने कार्यसूची रहेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कोशी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रदेश सरकारले कुनै अनियमितता नगरेको स्पष्ट पारेका छन्। उनले बजेटको आकार ठूलो भएकाले जिल्ला तहसम्म पनि बजेट पर्याप्त पुगेको धारणा राख्दै सदनमा प्रस्तुत तथ्यांक र अनुमानमा केहि त्रुटि रहेको बताए। नेता राईले सरकारले गैरसरकारी विधेयक र प्रदेशसभा नियमावली सम्बन्धी विधेयकलाई बजेट अधिवेशनकै समयमा समाधान गर्नुपर्ने आवश्यकता औंल्याए। साथै भविष्यमा असर पार्न सक्ने नीति र योजना तयार पार्दा कानुनसँग मेल खाने कुरामा विशेष ध्यान दिनुपर्ने जोड दिए।
कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पाले धान रोप्ने बेला किसानहरूले मल सहज रूपमा पाउन नसकेको बताए। उनले मल नपाउँदा किसानहरूले घण्टौं लाइन बस्नुपर्ने बाध्यता झेल्नु परेको र सरकारले यसमा तत्काल सुधार ल्याउनुपर्ने प्रश्न उठाए। अर्की सदस्य सपना दर्जीले विपद् व्यवस्थापनमा सरकारले वितरण गर्ने राहत, उद्धार र खोज कार्यका लागि पूर्वतयारी गर्नुपर्नेमा जोड दिइन्। उनले विपद् आउनुअघि स्थानीय सरकार र जनसमुदायसँग सहकार्य गरेर पूर्ण तयारी गर्नुपर्ने कुरामा ध्यानाकर्षण गराइन्।












