१९ असार, काभ्रेपलाञ्चोक । लगातारको मनसुन वर्षा र स्थानीयको अवरोधले धुलिखेल–साँगा सडक स्तरोन्नतिको काम ठप्प भएको छ। अरनिको राजमार्ग अन्तर्गत पर्ने यो सडक खण्डमा हाल पूर्वाधार विस्तार कार्य एक महिनाभन्दा बढी समयदेखि रोकिएको सडक विभागअन्तर्गतको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ। आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार सबै निर्माण सामग्री तयारी अवस्थामा भए पनि मनसुन सक्रिय रहेकाले काम अगाडि बढाउन सकिएको छैन। धुलिखेलदेखि बनेपातर्फ जाने सडक खण्ड तथा बनेपाको जनागाल क्षेत्रतर्फको एक किलोमिटर सडक पक्की गर्न बाँकी छ। यसका साथै, बनेपा क्षेत्रको सडक विस्तारसँगै करिब ५० वटा विद्युत पोल हटाउनुपर्ने र २८ किलो क्षेत्रमा एक घर हटाउनुपर्ने कामसमेत रोकिएको छ।
सबैभन्दा बढी अवरोध भने पुलबजार क्षेत्रमा देखिएको छ। यहाँ सडकको सेन्टरलाइनबाट दायाँबायाँ ७५/७५ फिट (कुल १५० फिट) क्षेत्रफल सडकको डिजाइनअनुसार छुट्याइँदै आएको छ। तर, स्थानीय बासिन्दाले आफ्नो घरको दुरी अनुसार दुवै छेउबाट बराबरी छुट्याउनुपर्छ भनी विवाद खडा गरेपछि काम चार महिनादेखि पूर्णरूपमा ठप्प भएको हो। इन्जिनियर खनालका अनुसार, यो विषयमा बनेपा नगरपालिका, सडक विभाग र स्थानीय सरोकारवालाबीच पटकपटक छलफल भए पनि कुनै निष्कर्ष निस्किन सकेको छैन। फलस्वरूप, मापदण्डभित्र परेका घर–टहरा, विद्युत पोल, अप्टिकल फाइबर र हाइटेन्सन लाइन हटाउन नपाउँदा मुख्य सहर क्षेत्रमा समेत काम रोकिएको हो। बनेपाको चण्डेश्वरी खोलादेखि चारदोबाटोसम्मको एक किलोमिटर क्षेत्रमा ढल निर्माण कार्य केही हदसम्म सञ्चालन भए पनि अहिले पूर्णरूपमा रोकिएको छ। सडक स्तरोन्नतिको प्रयास भइरहे पनि वर्षा र सामाजिक असहमतिको कारण काम अघि बढ्न सकेको छैन।








