काठमाडौं, २० असार — सिंहदरबारजस्तो सुरक्षा घेराभित्रको क्षेत्रबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सरकारी सवारी साधन हराएको छ। हराएको गाडी मन्त्रालयको स्वामित्वमा रहेको महिन्द्रा स्कोर्पियो S4 (नम्बर: प्रदेश ३–०१–००२ झ ५३६७) हो। उक्त सरकारी गाडी सिंहदरबार परिसरभित्रैबाट हराएको पुष्टि भएको छ। मन्त्रालयले घटनापछि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, र उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथलाई औपचारिक पत्राचार गरी गाडीको खोजी गरिदिन अनुरोध गरेको छ। श्रम मन्त्रालयले गाडी हराएको विषयमा असार १५ गते नै पत्राचार गरेको जानकारी गोरखापत्र दैनिकले सार्वजनिक गरेको हो।
सरकारी सवारीसाधन सुरक्षा व्यवस्थापनमा यस प्रकारको लापरबाही र यस्तो संवेदनशील क्षेत्रभित्रबाट सवारी हराउने घटनाले सुरक्षाप्रणालीमाथि प्रश्न उठाएको छ। हालसम्म उक्त गाडी फेला परेको जानकारी सार्वजनिक भइसकेको छैन। सिंहदरबार नेपालको केन्द्रिय प्रशासनिक संरचना हो जहाँ प्रधानमन्त्री कार्यालयसहित प्रमुख मन्त्रालयहरू अवस्थित छन्। त्यहाँबाट सरकारी गाडी हराउनु प्रशासनिक सुरक्षा र गाडी व्यवस्थापनमा देखिएको गम्भीर कमजोरीको संकेत मानिएको छ। यस्ता घटनाले सार्वजनिक सम्पत्ति संरक्षणमा प्रश्न उठाउने तथा सरकारको उत्तरदायित्वप्रति आमनागरिकको विश्वासमा असर पार्न सक्छ।












