शनिबार, २१ असार २०८२–देशभर सक्रिय मनसुनी वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न जिल्लाका सातवटा प्रमुख सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले शनिबार दिउँसो दिएको जानकारीअनुसार पूर्वदेखि पश्चिमसम्मका दुर्गम भेगमा सडक सञ्जाल ठप्प भएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र बाजुरा जिल्लाका सडकहरु अवरुद्ध छन्। प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार, सङ्खुवासभाको भोटखोला गाउँपालिका क्षेत्रमा अवस्थित कोशी राजमार्गमा भारी वर्षाले सडक पूर्ण रूपमा क्षति पुगेको छ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ मा खसेको ठूलो पहिरोले बनेपा–नाला–भक्तपुर सडकखण्ड अवरुद्ध भएको छ। पहिरोले पुलसमेत भत्किँदा यातायात पूर्ण रूपमा ठप्प भएको छ। त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–कोदारी खण्डमा खसेको पहिरोले अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनाएको प्रहरीले जनाएको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा आएको बाढीले भेरी करिडोर, र रुकुमपश्चिमको आठविसकोट नगरपालिका–६ रिजिगारमा आएको बाढीले जाजरकोट–डोल्पा सडक खण्ड बन्द गराएको छ।
यसैगरी, जाजरकोटको छेडागाड नगरपालिका–३ दखेरीभिरमा पहिरोले मध्यपहाडी लोकमार्ग बन्द भएको छ भने बाजुराको बडिमालिका नगरपालिका–७ ढम्कले भासुपातालमा पहिरो खस्दा मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ। यद्यपि, केही पहिरो प्रभावित सडकहरु एकतर्फी सञ्चालनमा आउन थालेका छन्।
बाग्लुङ–थिस्त कालिगण्डकी करिडोर र रोल्पाको अखटेमा सहिद राजमार्ग, गुल्मीको कालिगण्डकी करिडोर हुँदै परिवर्तन गाउँपालिका–५ मा खसेको पहिरो हटाइएपछि सहिद मार्ग एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
प्रहरीले पहिरो प्रभावित क्षेत्रमा सतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न अनुरोध गरेको छ। सम्पर्कविहीन भएका सडकखण्डमा उद्धार र मर्मत कार्यका लागि सशस्त्र प्रहरी, स्थानीय प्रशासन तथा प्राविधिक टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। मनसुनी अवरोधबाट प्रभावित यातायात तथा सञ्चार पुनः सुचारु गर्न यथासक्य चाँडो काम थालिने प्रहरी स्रोतले जनाएको छ।








