२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

ओझेलमा ताप्लेजुङको ढङ्ढङ्गे झरना: पर्यटकीय सम्भावनाको नयाँ गन्तव्य

२३ असार, फुङ्लिङ | ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सिमाना क्षेत्रभित्र अवस्थित ढङ्ढङ्गे झरना प्राकृतिक सौन्दर्य, सांगीतिक आवाज र अनौठो अनुभवका कारण विशेष पहिचान बनाउँदै गएको छ। लिम्बुदिन (वडा नं ५) र मेहेले (वडा नं ६) को सीमामा अवस्थित यो झरना अझै पनि आम दृष्टिकोणबाट ओझेलमै छ। स्थानीयले झरनाबाट निस्किने बाजाजस्तो तालयुक्त आवाजका कारण यसलाई ‘ढङ्ढङ्गे’ नाम दिएका छन्। पहिले ‘फावाखोला’ भनेर चिनिने यो झरनाले जलको बहाव र चट्टानको टक्करबाट उत्पन्न हुने अनौठो ध्वनिले आगन्तुकलाई संगीतले भरिएको प्राकृतिक अनुभव दिन्छ। स्थानीय बासिन्दा असलबहादुर राई भन्छन्, “पहिला फावाखोला भनिन्थ्यो, अहिले ढङ्ढङ्गे भनेर चिनिन्छ। यस्तो लाग्छ, मानौं झरनाले बाजा बजाइरहेको हो।”

ढङ्ढङ्गे झरना एक पटक हेर्ने जो–कोहीको स्मृतिमा अमिट छाप छोड्ने खालको छ। पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ। दृश्य मात्र सुन्दर छैन, आत्मामा शान्ति दिने खालको अनुभव हुन्छ। आन्तरिक पर्यटक साहारा लिम्बू भन्छिन्, “नाम सामान्य लाग्यो तर झरना देख्दा मुखमै मुस्कान आयो। यस्तो प्राकृतिक उपहार देख्दा मन रमायो।” पर्यटकीय सम्भावना बुझेका स्थानीयवासी झरनाले आम्दानीको नयाँ ढोका खोल्ने आशामा छन्। नारायणप्रसाद राई भन्छन्, “हामी त पर्खिराखेका छौं — बाहिरबाट पर्यटक आएर आम्दानीको स्रोत बनोस् भनेर।”

सिदिङ्वा गाउँपालिका उपाध्यक्ष बन्दना कडरीयाका अनुसार, स्थानीय सरकारले झरनालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने तयारी अघि बढाइसकेको छ। हाल ढुङ्गाका गोरेटो बाटाहरू निर्माण गरिएको छ भने होमस्टे निर्माणको तयारी पनि भइरहेको छ। पालिकाको आगामी नीति तथा कार्यक्रममा झरनालाई प्राथमिकता दिइएको उनले जानकारी दिइन्। यद्यपि झरनाको आधिकारिक लम्बाइ मापन र वैज्ञानिक अध्ययन अझै हुन बाँकी छ। प्रकृतिको यस्तो अनुपम उपहारको संरक्षण र प्रवर्द्धनका लागि गहिरो अध्ययन, सटीक मापन र प्रचारप्रसार अत्यावश्यक रहेको स्थानीय विज्ञहरू बताउँछन्।

ढङ्ढङ्गे झरनासम्म पुग्न जिल्ला सदरमुकाम फुङ्लिङबाट पाँचथरको गणेशचोक हुँदै करिब तीन घण्टामा साब्लाखु भञ्ज्याङ पुगिन्छ। त्यहाँबाट करिब ४० मिनेटको यात्रा पश्चात झरनामा पुग्न सकिन्छ। झरनासम्म मोटर बाटो विस्तार भएकाले सवारीसाधन सजिलै पुग्न सक्छ। ताप्लेजुङ, जहाँ प्रत्येक पहाडको भञ्ज्याङ र खोल्साको गर्जनमा अनकन्टार पर्यटकीय सम्भावना लुकेको छ। फुङफुङगे झरना जस्तै, ढङ्ढङ्गे झरना पनि ताप्लेजुङको पर्यटकीय परिचयमा नयाँ पहिचान दिनसक्ने क्षमता राख्दछ — यदि यो प्राकृतिक धरोहरको महत्व बुझेर संरक्षण र प्रवर्द्धनमा ध्यान दिइयो भने।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।