काठमाडौं, २४ असार २०८२ – आन्दोलनरत चिकित्सकहरूको मागलाई लिएर सरकारले वार्ताको तयारी थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा तीन सदस्यीय मन्त्रीस्तरीय टोली गठन गरी स्वास्थ्य मन्त्रालयमा अनौपचारिक छलफल सम्पन्न भएको छ। ती टोलीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहेका छन्। चिकित्सक संघका तर्फबाट अध्यक्ष डा. अनिल विक्रम कार्की, महासचिव सञ्जीव तिवारी र पूर्वअध्यक्षहरू वार्तामा सहभागी हुने तयारीमा छन्।
नेपाल चिकित्सक संघका महासचिव तिवारीले अनौपचारिक छलफल सकारात्मक रहेको बताए। उनले भने, “सरकारले आजै साँझसम्म औपचारिक वार्ताका लागि पत्र पठाउने तयारी गरेको छ। हामी वार्ताका लागि तयार छौँ।” चिकित्सकहरू उपभोक्ता अदालतको फैसलाले स्वास्थ्य संस्थालाई ठुलो रकम तिर्नुपर्ने भएकोमा विरोध जनाउँदै दुई दिनदेखि आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पारेका छन्।












