काठमाडौं, असार २५ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका सगुनसुन्दर लावतीलाई पदमुक्त गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको निर्णय अनुसार लावतीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको हो। पार्टीका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले लावती पदमुक्त गरिएको जानकारी दिँदै भने, “अध्यक्ष लिङ्देनको निर्णयमा आधारित भएर उहाँलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको हो।” पार्टीका एक वरिष्ठ नेताका अनुसार, लावतीमाथि निरन्तर पार्टीको आन्तरिक हितविपरीत गतिविधिमा संलग्न भएको, नेतृत्वविरुद्ध भ्रमपूर्ण समाचार प्रवाहमा प्रत्यक्ष संलग्नता देखिएको, र पार्टीको एकता भंग गर्ने प्रयासमा लागेको ठोस प्रमाणका आधारमा उनलाई पदमुक्त गरिएको हो।
“विशेषतः अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टी संरक्षक पशुपतिशमशेर जबराको सम्बन्धमा फाटो ल्याउने रणनीतिक गतिविधिमा संलग्न भएको पुष्टि भएपछि उनलाई हटाइएको हो,” ती नेताले बताए। लावती पार्टीको प्रवक्ता मात्रै नभई, पछिल्ला समय राजनीतिमा खुलेर अभिव्यक्ति दिने व्यक्तिका रूपमा पनि देखिँदै आएका थिए। पार्टीभित्रको मतभेद, नेतृत्वको निर्णयप्रति असन्तुष्टि र अलग धारणा सार्वजनिक रूपमा प्रस्तुत गर्दै आएका लावतीमाथि आलोचना बढ्दै गएको थियो।
यससँगै पार्टीको अनुशासन र संरचना सुदृढ गर्ने क्रममा अध्यक्ष लिङ्देनले केन्द्रीय अनुशासन समिति (अनुसन्धान समिति) को अध्यक्षमा राप्रपा उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रोशन कार्कीलाई मनोनयन गरेका छन्। उक्त पद खाली भएपछि कार्कीको नियुक्ति गरिएको हो। यसअघि अनुशासन समितिको अध्यक्ष रहेका नवराज सुवेदीले पार्टी त्याग गरी राजसंस्था पुनःस्थापनाका पक्षमा नयाँ राजनीतिक अभियानको संयोजकको रूपमा अगाडि बढ्ने घोषणा गरेका थिए। राप्रपाभित्र पछिल्लो समय देखिएको विचार, नेतृत्व र रणनीतिमा मतभेद खुल्ला रूपमा देखिन थालेपछि पार्टी नेतृत्वले संगठन मजबुत पार्न रणनीतिक निर्णयहरू लिँदै आएको विश्लेषकहरूको बुझाइ छ।












