म्याग्दी, असार २५ — म्याग्दीको मालिका गाउँपालिका–३ मा पहिरो खस्दा बाबुको ज्यान गएको छ भने उनका १३ वर्षीय छोरा बेपत्ता भएका छन्। बुधबार दिउँसो लुप्सीटारमा आएको पहिरोले ३५ वर्षीय जगेन्द्र विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए। मृतक विकका छोरा सरोज विक भने पहिरोले पुरिएर अझै बेपत्ता छन्। बुधबार दिउँसो करिब १२ बजेतिर घाँसदाउरा गर्न नजिकैको पाखोबारी गएका बाबुछोरा अचानक खसेको पहिरोमा परेका थिए। घटनास्थल नजिकै रहेको स्थानीय कुलबहादुर बुढाको गोठ पनि पहिरोले बगाएको छ। गोठसँगै एक हल गोरु पनि बगाएको प्रहरीले जनाएको छ।
बेपत्ता बालकको खोजीका लागि प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ। स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार प्रयास जारी राखेको छ। यसैबीच, म्याग्दीको धौलागिरि क्षेत्रमा बुधबार थप पहिरो खस्दा म्याग्दी नदी करिब १० मिनेटसम्म थुनिएको थियो। गएराति १० बजेदेखि परेको अविरल वर्षाका कारण जिल्लामा बाढी र पहिरोको जोखिम थप बढेको प्रहरीले जनाएको छ। मनसुन सक्रिय भएसँगै म्याग्दी लगायतका पहाडी जिल्लामा पहिरोका घटना तीव्र रुपमा बढिरहेका छन्। सुरक्षाका लागि उच्च सतर्कता अपनाउन प्रशासनले स्थानीयहरूलाई आग्रह गरेको छ।












