२७ असार, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीलाई युनेस्कोको सम्भावित खतराको सूची बाट हटाइएको छ। फ्रान्सको पेरिसमा जारी युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७ औं अधिवेशनमा गरिएको निर्णयले लुम्बिनीको ऐतिहासिक, धार्मिक र सांस्कृतिक मूल्य सुरक्षित गर्न नेपालका तर्फबाट गरिएको प्रयासलाई अन्तर्राष्ट्रिय मान्यता दिएको छ। लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राई का अनुसार, संरक्षण–संवर्द्धन, नीतिगत सुधार, कानुनी स्पष्टता र व्यापक संरचनागत सुधारका कारण युनेस्को सकारात्मक बनेको हो। उनले भने, “कन्सेप्चुअल फिजिकल डेभलपमेन्ट योजना, लुम्बिनी हेरिटेज कन्फरेन्स र रणनीतिक कार्ययोजनाका आधारमा युनेस्कोले तत्कालका लागि लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय गरेको हो।”
बुल्गेरियाका प्रोफेसर निकोले नेनोवको अध्यक्षतामा पेरिसमा सम्पन्न कमिटी बैठकमा, युनेस्कोले लुम्बिनीको अवस्था प्रत्यक्ष बुझ्न एक रिएक्टिभ मनिटरिङ मिसन पठाउने निर्णय पनि गरेको छ। उक्त मिसनले स्थलगत निरीक्षण गरेर पुनः मूल्यांकन गर्नेछ— जसको आधारमा लुम्बिनी फेरि खतराको सूचीमा पर्ने नपर्ने टुंगो लाग्नेछ। सन् २०२२ मा युनेस्कोले पठाएको मिसनले उठाएका केही समस्याहरूका आधारमा सन् २०२४ मा लुम्बिनीलाई ‘सम्भावित खतरा’ सूचीमा राखिएको थियो। भारतको पहलमा सन् २०२३ मा दिल्लीमा आयोजित ४६औं बैठकमा खतराको सूचीमा नराख्ने निर्णय भएको थियो। त्यसयता नेपाल सरकारले विज्ञहरूको सहभागिता, कानुनी स्पष्टता र रिपोर्टिङमा पारदर्शिता अपनाउँदै आएको छ।
पेरिसमा आयोजित उक्त अधिवेशनमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, उपाध्यक्ष डा. ल्हारक्याल लामा र वरिष्ठ निर्देशक राई सम्मिलित प्रतिनिधिमण्डलले तिलौराकोट दरबार क्षेत्रलाई युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि अन्तिम चरणको प्रक्रिया पूरा गरेको जानकारी गराएका छन्।
तिलौराकोट— गौतम बुद्धले राजकुमारकालमा २९ वर्ष बिताएको ऐतिहासिक स्थल—लाई सन् १९९७ देखि नै सम्भावित सूचीमा राखिएको थियो। तर, हाल आएर नेपालको तर्फबाट सो क्षेत्रमा संरक्षित स्मारक क्षेत्र घोषणा, गुरुयोजना निर्माण, ऐतिहासिक प्रमाणहरूको संकलन, र व्यापक अन्तर्राष्ट्रिय संवादपछि प्रक्रिया औपचारिक रूपमा सम्पन्न हुँदैछ। लुम्बिनी जत्तिकै प्राथमिकतामा पर्नुका साथै बजेटमा वृद्धि, अन्तर्राष्ट्रिय पर्यटक आगमन बढ्ने, स्थानीय अर्थतन्त्र सुदृढ हुने, इतिहास, संस्कृति र पुरातात्विक महत्व अन्तर्राष्ट्रिय मञ्चमा स्थापित हुने, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल भन्छन्, “पहिला लुम्बिनी मात्र सरकारले प्राथमिकतामा राख्थ्यो, अब तिलौराकोट पनि विश्व सम्पदामा सूचीकृत भएपछि समान रूपमा बजेट र ध्यान प्राप्त गर्नेछ।”
तिलौराकोट मात्र नभई कुदान, निग्लीहवा, गोटिहवा, अरौराकोट, सिसनिया, सगरहवा जस्ता सम्पदास्थललाई समेत संरक्षित स्मारक घोषणा गरी शाक्य गणराज्यको समग्र राजधानी क्षेत्रका रूपमा विश्व सम्पदा सूचीमा समेट्ने योजना लुम्बिनी विकास कोष र पुरातत्व विभागले अघि सारेका छन्। हाल विश्व सम्पदा सूचीमा नेपालबाट काठमाडौं उपत्यका र लुम्बिनी गरी २ स्थान मात्र सूचीकृत छन्। युनेस्कोको तथ्यांक अनुसार हालसम्म विश्वभर १,१२१ सम्पदास्थल सूचीकृत छन्। लुम्बिनीको खतराको सूचीबाट हटाइनुले अन्तर्राष्ट्रिय जगतमा नेपालको सम्पदा संरक्षणप्रति रहेको प्रतिबद्धता देखाउँछ भने तिलौराकोटको सूचिकीकरणले नेपालको ऐतिहासिक विरासतलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न थप मद्दत पुर्याउनेछ। यो नेपालको सांस्कृतिक कूटनीति र पर्यटन विकासका दृष्टिकोणले पनि एक महत्वपूर्ण सफलता हो।








