काठमाडौं, २७ असार — नेपाली टेनिस टोली मलेसियाको क्वालालम्पुरमा जुलाई १६ देखि १९ सम्म आयोजना हुने डेभिस कप प्रतियोगितामा सहभागि हुन जाने भएको छ। यस टोलीमा ४ खेलाडी र २ अन्य सदस्य गरी कुल ६ जनाको सहभागिता रहेको छ। नेपाली टोलीमा प्रदीप खड्का, प्रणव मानन्धर, निसान श्रेष्ठ र आयुषमान हजुरघले खेलाडीको रुपमा रहेका छन् भने प्रशिक्षकको जिम्मेवारी जितेन्द्र परियारले सम्हाल्नेछन्। व्यवस्थापकको रुपमा जयजीव हाडा टोलीसँगै छन्। ग्रुप ४ अन्तर्गत सञ्चालन हुने यस प्रतियोगितामा नेपालसहित कुवेत, किर्गिस्तान, मलेसिया, प्यासिफिक ओसिएना, कतार, इराक र फिलिपिन्स गरी जम्मा ८ राष्ट्र सहभागी छन्। यी राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरी खेलाइनेछ।
दुबै समूहको शीर्ष दुई स्थानमा रहने टिमले प्रमोसन प्लेअफमा प्रवेश गर्नेछन् भने तेस्रो र चौथो स्थानमा रहेका टिमले रेलिगेसन प्लेअफ खेल्नेछन्। टोलीलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समिति सदस्य कमलबहादुर भट्टराई, नेपाल टेनिस संघ तदर्थ समितिका संयोजक मनोहरदास मुललगायतले शुक्रबार एक विशेष कार्यक्रमबीच बिदाइ गरेका छन्।








