जनकपुरधाम, २८ असार – मधेश प्रदेश सभाको बैठक विपक्षी दलको अवरोधका कारण शनिबार छैटौं दिन पनि अगाडि बढ्न सकेन। बजेटमा देखिएको त्रुटि सच्याइएनसम्म बैठक नचल्न दिने विपक्षी नेकपा माओवादी केन्द्रको अडान कायमै रहँदा बैठक फेरि स्थगित गरिएको हो। बैठक सुरु भएपछि माओवादी केन्द्रका उपनेता युवराज भट्टराईले बजेट त्रुटि सच्याउन बनेको कार्यदलको संरचनामै समस्या रहेको भन्दै आपत्ति जनाए। उनले कार्यदलमा मन्त्रीसमेत समावेश गरिनु उचित नभएको स्पष्ट पारे।
उक्त विरोधसँगै सभामुख रामचन्द्र मण्डलले कार्यदल संयोजक पदबाट राजीनामा दिने घोषणा गरे। मण्डलले समय अभावका कारण त्रुटि सच्याउन नसकिएको र विवाद छलफलमार्फत समाधान गर्न विपक्षीसँग आग्रह गरे पनि सहमति नजुटेपछि संयोजक पदबाट पन्छिन तयार भएको बताए। मुख्यमन्त्री सतिशकुमार सिंहको प्रस्तावमा गत बिहीबार गठन गरिएको ६ सदस्यीय कार्यदलमा भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवलाई राखिएको थियो। यही कारण विपक्षी दलले कार्यदलको संरचना अस्वीकार गर्दै निरन्तर अवरोध गर्दै आएको हो।
सभामुख मण्डलले विगतमा कार्यदलमा मन्त्री नराखिएको परम्पराको संकेत गर्दै वर्तमान संरचना पनि आपत्तिजनक भएको स्वीकार गरे। विपक्षीको अवरोध कायमै रहेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको छ।












