काठमाडौं, असार २९ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको अवैध विदेशी मुद्रासहित एक नेपाली नागरिक पक्राउ परेका छन्। नागार्जुन नगरपालिका–१५, कारखाना चोक निवासी ४६ वर्षीय प्रेम गुरुङलाई प्रहरीले बैंकक जान लाग्दाको क्रममा पक्राउ गरेको हो। प्रहरीका अनुसार, गुरुङ थाइ एयरवेजको उडानमार्फत काठमाडौँबाट थाइल्याण्डको राजधानी बैंकक जान लागेका थिए। अन्तर्राष्ट्रिय उडानतर्फको ह्यान्ड ब्यागेज जाँचको क्रममा उनको झोलामा संकास्पद वस्तु देखिएपछि विस्तृत चेकजाँच गरिएको थियो।
जाँचको क्रममा १३ हजार युरो, २३ हजार ५ अमेरिकी डलर, ६ हजार स्वीस फ्रान्क र १० हजार ८७० थाई भाट बरामद भएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। यी सबै मुद्रा कानुनी प्रक्रियाअनुसार घोषणा नगरिएको, स्रोत खुलाइएको नभएको तथा नेपाल राष्ट्र बैंकको स्वीकृति विना ओसारपसार गरिन लागेको आधारमा अवैध ठहर गरिएको हो। विदेशी मुद्राको यति ठूलो परिमाणमा अवैध ओसारपसारको आशंकामा उनलाई तत्काल नियन्त्रणमा लिइएको र राजस्व अनुसन्धान विभाग, पुल्चोकमा बुझाइएको छ। विभागमार्फत थप अनुसन्धान थालिएको छ।
सरकारले पछिल्लो समय अवैध रूपमा विदेशी मुद्रा ओसारपसार गर्ने गतिविधिमा संलग्नहरूलाई कडाइका साथ निगरानी गरिरहेको छ। हवाई मार्गमार्फत ठूलो परिमाणमा नगद विदेशी मुद्रा लैजान खोज्ने प्रवृत्ति बढ्न थालेसँगै विमानस्थल सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। राजस्व अनुसन्धान विभागका एक अधिकारीका अनुसार, “यस प्रकारका अवैध कारोबारले अर्थतन्त्रमा नकारात्मक असर पार्ने खतरा हुन्छ। बिना स्वीकृति लैजान खोजिएको मुद्रा ह्वाइट मनी होइन भन्ने आशंका बलियो हुन्छ।”
प्रेम गुरुङमाथि अब विदेशी मुद्रा सम्बन्धी ऐनअन्तर्गत अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइनेछ। स्रोत नखुलेको मुद्रा ओसारपसार गर्नेलाई आर्थिक जरिवाना मात्र होइन, कारावास सजायसमेत हुने व्यवस्था कानुनमा रहेको छ। राजस्व अनुसन्धान विभागले उनलाई थप सोधपुछ तथा आवश्यक प्रमाण संकलनपछि सम्बन्धित निकायमार्फत अभियोजन प्रक्रिया अघि बढाउने जनाएको छ।








