भक्तपुर, असार २९ – नेपाल इन्जिनियरिङ कलेज, चाँगुनारायणमा शिक्षकमाथि विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले हातपात गरेपछि क्याम्पसको पठनपाठन पाँच दिनदेखि प्रभावित भएको छ। घटनापछि विद्यार्थी, शिक्षक र कर्मचारी त्रसित बनेका छन् भने कलेजको आन्तरिक परीक्षा समेत प्रभावित भएको छ। क्याम्पस प्रशासनका अनुसार, खेलकुद सप्ताह सञ्चालनका सन्दर्भमा विवाद उत्पन्न भएको हो। २४ असारमा नेविसंघका केन्द्रीय सदस्य साजन देउजा र क्याम्पस इकाइ अध्यक्ष पृथ्वीजंग थापाले क्याम्पस प्रमुख दुर्गाप्रसाद भण्डारी, सहायक प्रमुख मोहनध्वज केसी र प्रशासन प्रमुख श्रीमा शर्मामाथि हातपात गरेका थिए।
क्याम्पस प्रमुख भण्डारीले भने, “२४ गते हातपातको घटना भएको हो। अहिले पाँच दिन बितिसक्दा पनि दोषीमाथि कुनै कारबाही भएको छैन। त्रासका कारण विद्यार्थीले परीक्षा दिन सकेनन्। क्याम्पस आंशिक रूपमा मात्र खुलेको छ।” २४ देखि २८ असारसम्म खेलकुद सप्ताहको कार्यक्रम गर्न सबै विद्यार्थी संगठनबीच सहमति भइसकेको थियो। तर नेविसंघका कार्यकर्ताले उक्त सहमति मान्य नरहेको भन्दै शारीरिक आक्रमण गरेका हुन्। कलेज प्रशासनले घटनामा बाह्य व्यक्ति पनि संलग्न रहेको आरोप लगाएको छ। घटनासम्बन्धी उजुरी भक्तपुर प्रहरी परिसरमा दर्ता गरिएको छ। शिक्षक र कर्मचारीहरूले आफूहरूको सुरक्षाको माग गर्दै पठनपाठन बहिष्कार गरेका छन्।
जिल्ला प्रशासन कार्यालय, भक्तपुरले घटनापछि क्याम्पस क्षेत्रमा सुरक्षा प्रवन्ध मिलाइएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले भने, “क्याम्पसले माग गरेअनुसार प्रहरी परिचालन गरिएको छ। सुरक्षामा कुनै कमी हुन दिइने छैन।” दोषीमाथि अहिलेसम्म कारबाही नहुँदा घटनाले क्याम्पसमा आन्तरिक संकटको अवस्था सिर्जना गरेको छ। शिक्षक, कर्मचारी मात्र होइन, विद्यार्थीहरूले पनि दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। स्थानीयवासी, शैक्षिक वृत्त र विद्यार्थी संगठनका अन्य घटकहरूले शैक्षिक संस्थाभित्र यस्तो घटना हुनु दु:खद भएको भन्दै शान्तिपूर्ण वातावरणको पुनःस्थापनाको माग गरेका छन्।








