२०८३ आश्विन २ शुक्रबार
Search
२०८३ आश्विन २ शुक्रबार

गड्डाचौकी भन्सार: निर्यात पूर्ण रूपमा ठप्प, आयात र राजस्व संकलनमा पनि लक्ष्य चुक्दै

कञ्चनपुर, ७ साउन — सुदूरपश्चिम प्रदेशको प्रमुख सीमा नाका गड्डाचौकीबाट हाल निर्यात पूर्ण रूपमा ठप्प भएको छ। कञ्चनपुरस्थित गड्डाचौकी भन्सार कार्यालयका अनुसार पछिल्ला वर्षहरूमा निर्यात गतिविधि शून्य प्रायः बनेको छ। कोरोना महामारीभन्दा अघिसम्म अलिअलि मात्रामा भए पनि यहाँबाट घ्यू, हातले बनाइएका सामग्रीलगायतका साना परम्परागत उत्पादनहरू भारततर्फ निर्यात हुने गर्थे। तर पछिल्लो समय ती वस्तुहरूको पनि निर्यात अवरुद्ध भएको कञ्चनपुर भन्सार कार्यालयका प्रमुख राजनबाबु काफ्लेले जानकारी दिए।

शारदा ब्यारेजको जीर्ण संरचना, १० टनभन्दा बढीको सवारीसाधन आवतजावतमा रोक, र सीमित समयका लागि मात्रै पुल खोलिनेजस्ता कारणले यहाँको भन्सार कार्यसम्पादन प्रभावित भएको हो। प्रमुख काफ्ले भन्छन्, “ब्यारेजमा समस्या हुँदा ठूलो मालवाहक सवारी आउन सक्दैन, त्यसैले व्यापारीले धेरै ठाउँमा सामान लोड–अनलोड गर्नुपर्ने बाध्यता हुन्छ, जसले लागत बढाउँछ र यो नाका प्रतिस्पर्धी बन्न सक्दैन।” गड्डाचौकी भन्सारको समग्र राजस्व संकलन पनि लक्ष्यअनुसार हुन सकेको छैन। चालु आर्थिक वर्ष २०८१/८२ मा ७४ करोड ५ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएको थियो, तर असुल भएको रकम ५९ करोड ७७ लाख ५८ हजार रुपैयाँ मात्र हो, जुन कुल लक्ष्यको झण्डै ८० प्रतिशत मात्र हो।

यसअघि २०७८/७९ मा ५२ करोडको लक्ष्य राखिएकोमा ४६ करोड मात्र संकलन भएको थियो भने २०७९/८० मा ५८ करोडको लक्ष्य राखिँदा ४२ करोड मात्र संकलन गरिएको थियो। भन्सार प्रमुख काफ्ले भन्छन्, “राजस्व विभागले हरेक वर्ष अध्ययनबिना लक्ष्य बढाउँदै लैजान्छ तर पूर्वाधार वा व्यापारको सम्भाव्यता हेर्दैन।” नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जङ्गबहादुर मल्ल पनि यही गुनासो दोहोर्‍याउँछन्। “सुदूरपश्चिममा ठूलो व्यापारिक नाका छैन। गड्डाचौकी पनि सानो नाका हो, शारदा ब्यारेज सीमित समयका लागि मात्रै खुल्ने भएकाले सामानको आयात-निर्यात प्रभावित हुन्छ,” मल्लले भने, “यस्ता अवस्थामा लक्ष्य बढाएर मात्र राजस्व संकलन सम्भव हुँदैन।”

भन्सार कार्यालयले चालु आर्थिक वर्षमा चोरी तथा तस्करीका १,२७६ मुद्दा दर्ता गरेको छ। प्रमुख काफ्लेका अनुसार, यदि सरकारले सीमामा हुने तस्करी नियन्त्रण गर्न सक्यो भने राजस्व संकलनमा उल्लेखनीय सुधार ल्याउन सकिनेछ। सुदूरपश्चिमको मुख्य भन्सार नाकाबाट हाल निर्यात पूर्ण रूपमा ठप्प छ भने आयात पनि सिमित अवस्थामा छ। राजस्व संकलनमा पनि लक्ष्यपछाडि परेको गड्डाचौकी भन्सारले पूर्वाधार अभाव, नीति असंगतता र सीमित समयको नाका सञ्चालनलाई मुख्य कारक मान्दै आएको छ। दीर्घकालीन समाधानका लागि व्यापारिक पूर्वाधार सुदृढीकरण, शारदा ब्यारेजको पुनर्निर्माण, र नीतिगत सुधार अपरिहार्य देखिन्छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।