७ साउन २०८२, गाजा — इजरायली सेनाले गाजामा एकपछि अर्को गर्दै सञ्चालन गरेको हवाई आक्रमणमा १९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। पछिल्लो आक्रमण गाजापट्टीको अल बुरेज शरणार्थी शिविर, राफाह सहर र गाजा सहरको विभिन्न भागमा भएको हो। स्थानीय स्रोतका अनुसार इजरायली लडाकु विमानले गाजाको उत्तरपश्चिमी भागमा रहेको एउटा आवासीय घरमा बम प्रहार गर्दा छ जना बालबालिकासहित एकै परिवारका धेरै सदस्यको मृत्यु भएको छ। घटनास्थलमा पुगेका स्वास्थ्यकर्मी र एम्बुलेन्सले ठूलो संख्यामा घाइतेलाई उद्दार गरेको जनाइएको छ।
त्यसैगरी, गाजाको दक्षिणपूर्वी क्षेत्रमा पर्ने अल-जायतुन मा रहेको सालाह अल-दिन मस्जिद पछाडि रहेको एक घरमाथि भएको अर्को हवाई आक्रमणमा पनि केही मानिस घाइते भएको जनाइएको छ। स्थानीय बासिन्दा र चिकित्सकीय स्रोतहरूले घटनास्थलहरूमा मानवीय क्षति अत्यन्त भयावह रहेको बताएका छन्। धेरैजसो घाइतेहरूको अवस्था गम्भीर रहेको र उपचारका लागि गाजा सहरका सीमित स्वास्थ्य केन्द्रहरूमा दबाब बढेको छ।
गाजामा पछिल्ला केही महिनादेखि जारी इजरायल-प्यालेस्टाइन द्वन्द्व फेरि चर्किँदै गएको छ। अन्तर्राष्ट्रिय समुदायले यसलाई रोक्न आह्वान गरिरहे पनि हिंसात्मक गतिविधि रोकिएको छैन। युद्धबाट जोगिन प्रयासरत सर्वसाधारणमाथि भएको यस प्रकारको आक्रमणले पुनः एकपटक गाजाको मानवीय संकटलाई गहिरो बनाएको छ।












