साउन ७, काठमाडौं– अबदेखि नेपाली नागरिकले नयाँ डिम्याट खाता (हितग्राही खाता) खोल्नका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ। धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको नीति तथा कार्यक्रममा यसलाई स्पष्ट उल्लेख गरेको हो। धितोपत्र बोर्डले शेयर कारोबार प्रणालीलाई थप सुरक्षित, पारदर्शी र नियमनयोग्य बनाउन राष्ट्रिय परिचयपत्रलाई ग्राहक पहिचान प्रणाली (KYC) सँग जोड्ने निर्णय लिएको हो। यसअनुसार अब नयाँ हितग्राही खाता खोल्ने क्रममा अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर माग गरिनेछ। धितोपत्र बोर्डका अनुसार यस नयाँ व्यवस्थाबाट एक व्यक्तिको नाममा खोलिएका सबै खाता एकै परिचयमार्फत ट्रयाक गर्न सकिनेछ, जसले अवैध कारोबार नियन्त्रण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
यस प्रयोजनका लागि धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई आवश्यक प्राविधिक तयारी गर्न निर्देशन दिएको छ। प्रणालीमा राष्ट्रिय परिचयपत्र नम्बर समावेश हुने गरी सफ्टवेयर अपडेट गर्नुपर्नेछ। यो नीतिको मूल उद्देश्य सेयर बजारमा हुने अनावश्यक दोहोरो खाता खोलाइ, मनि लन्डरिङको आशंका हुने कारोबार, तथा फर्जी परिचय प्रयोगजस्ता क्रियाकलापमा नियन्त्रण गर्नु हो। यसबाट बजार प्रणाली थप उत्तरदायी, समावेशी र डिजिटल प्रविधिमैत्री हुने बोर्डको विश्वास छ। हाल खोलिएका खाताहरूमा यो अनिवार्य व्यवस्था लागू हुने वा नहुने विषयमा स्पष्टता आउन बाँकी छ। यद्यपि भविष्यमा सबै खाता धारकहरूको विवरणमा राष्ट्रिय परिचय पत्र अनिवार्यरूपमा समावेश गरिने संभावना प्रबल देखिन्छ।












