काठमाडौं, साउन १० — चन्द्रागिरि नगरपालिका–५ भुजिङडोलमा एउटै विशाल ढुङ्गामा १०८ वटा शिवलिङ्ग र त्यसभरि १०८ वटै नागको आकृति कुँदिएको अद्भुत धार्मिक मूर्ति स्थापना गरिएको छ। सोही ढुङ्गामा विश्राम अवस्थामा रहेको भगवान् महादेव र शिरमाथि सातमुखे नागको कलात्मक संरचना समेत निर्माण गरिएको छ। विश्रामेश्वर महादेवको नाममा स्थापना गरिएको यस मूर्तिसँगै नजिकै साँढे र यज्ञ कुण्ड पनि निर्माण गरिएको छ। हाल यस स्थानमा शिवपुराण ज्ञान महायज्ञ समेत सञ्चालनमा छ।
मन्दिर निर्माण तथा संरक्षण समिति अध्यक्ष श्यामलाल श्रेष्ठका अनुसार सबै मूर्ति एउटै ढुङ्गामा कुँदिएको हो, टाँसिएको होइन। “यो ढुङ्गा म आफैंले धादिङको जुंगे खोलाबाट ल्याएको हुँ,” उनले भने। श्रेष्ठका अनुसार कलाकार काजी लामाले झन्डै छ महिनाको समय लगाएर मूर्ति कुँदेका हुन्। श्रेष्ठले आफ्ना स्वर्गीय बुबा धनलाल र आमाको धार्मिक सपना पूरा गर्न व्यक्तिगत लगानीमा मन्दिर निर्माणको कार्य अघि बढाएको बताए। निर्माणमा हालसम्म करिब ४५ लाख रुपैयाँ खर्च भइसकेको जनाइएको छ।
मन्दिर समितिका अनुसार ३० हजार १०५ रुपैयाँ सहयोग गर्ने व्यक्तिको नाममा एक शिवलिङ्ग समर्पण गरिने र तिन पुस्तासम्मको नाम शिलापत्रमा अंकित गरिनेछ। महायज्ञ संयोजक ध्रुवकुमार घिमिरेले गोसाइँकुण्डमा विश्राम गरिरहेजस्तो देखिने महादेवको आकृतिलाई आधार मानेर यो मूर्ति निर्माण गरिएको जानकारी दिए। यसैबीच चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले मन्दिर स्थलको अवलोकन गर्दै नगरपालिकाको तर्फबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाएका छन्। स्थानीयवासीहरूले मन्दिर निर्माणले धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान दिने विश्वास व्यक्त गरेका छन्।









