काठमाडौं, साउन १० — अविरल वर्षाका कारण देशका प्रमुख चार राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्। पहिरो र बाढीका कारण कर्णाली, कोशी र बागमती प्रदेशका मुख्य सडक सञ्जालमा सवारी आवागमन ठप्प भएको छ। कर्णाली प्रदेशमा कर्णाली करिडोर र भेरी करिडोर पूर्णरूपमा बन्द छन्। हुम्लाको सिमकोट क्षेत्रमा गएको पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध भएको हो। यस्तै, रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ स्थित रिजिगारमा आएको बाढीले भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक अवरुद्ध पारेको छ। कोशी प्रदेशमा पनि संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणमा पहिरो जाँदा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा नेपाल–चीन नाका जोड्ने पुलमा बाढीका कारण उच्च जोखिम देखिएको छ। रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित पुलमा जोखिम बढेपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको प्रहरीको भनाइ छ। पछिल्लो अद्यावधिक विवरणअनुसार (बिहान १०:३० सम्म), काठमाडौंको टोखा–२ स्थित काठमाडौं–नुवाकोट सडक, बागलुङ र नवलपरासी पूर्व क्षेत्रको कालीगण्डकी करिडोर, तथा रोल्पाको परिवर्तन गाउँपालिका–५ ग्रामजिमस्थित सहिद राजमार्ग एकतर्फी मात्र सञ्चालन भइरहेको छ। सडक खुलाउन सबै स्थानमा प्राविधिक टोली परिचालन गरिएको र सरकार तथा सुरक्षाकर्मीहरूद्वारा राहत तथा पुनःस्थापना कार्य तीव्र गतिमा अघि बढाइएको जानकारी प्रहरीले दिएको छ।









