१२ साउन, काठमाडौं — स्वास्थ्य सेवा विभागले रेबिज र सर्पदंश उपचारमा आवश्यक खोप तथा औषधि देशभरका सातै प्रदेशमा आपूर्ति गरेको छ। पछिल्लो समय यी दुवै उपचार सामग्रीको अभावबारे खबर सार्वजनिक भएपछि सरकारले तिव्र रूपमा आपूर्ति प्रक्रिया अघि बढाएको हो। विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीका अनुसार औषधिहरू खरिद भइसकेका थिए र अब ती प्रदेश सरकारका स्वास्थ्य संस्थाहरूमा वितरणका लागि तयारी अवस्थामा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आपूर्तिमा ढिलाइ नहोस् भनेर मातहतका अधिकारीलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएका थिए। भावी दिनमा पनि खोपको अभाव नहोस् भनेर आपूर्ति प्रक्रियालाई व्यवस्थित बनाउन उनले विशेष जोड दिएका छन्।
विभागको तथ्यांकअनुसार, हाल ५१ हजार १ सय ८० डोज रेबिजविरुद्धको खोप प्रदेशहरूमा पठाइएको छ। बागमती प्रदेश: सबैभन्दा धेरै — १० हजार ८० डोज रेबिज खोप र १ हजार डोज सर्पदंशविरुद्धको भेनम। मधेश प्रदेश: सर्पदंशका घटनाहरू धेरै हुने प्रदेश भएकाले यहाँ २ हजार ५ सय डोज सर्पदंशविरुद्धको खोप र करिब ५ हजार डोज रेबिज खोप आपूर्ति गरिएको छ। अन्य प्रदेशहरूमा मागअनुसार खोप तथा औषधि पठाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। स्वास्थ्य सेवा विभागले हाल आपूर्ति भएका औषधि दुई महिनाको लागि प्रयाप्त हुने जनाउँदै त्यस अवधिमा चार गुणा बढी आपूर्ति सुनिश्चित गरिने जनाएको छ।








