२०८३ आश्विन १ बिहीबार
Search
२०८३ आश्विन १ बिहीबार

तनहुँ हाइड्रोपावरमा बाढी पूर्वसूचना दिने स्वचालित प्रविधिको सफल प्रयोग, जोखिम न्यूनीकरणमा ठूलो उपलब्धि

१४ साउन, तनहुँ — सेती नदीको बाढीले अघिल्ला वर्षमा निर्माणाधीन तनहुँ हाइड्रोपावर आयोजनालाई प्रभावित बनाउँदै आएको थियो। तर, यो वर्षको मनसुनसँगै स्थिति बदलिएको छ। १४० मेगावाट क्षमताको जलासययुक्त आयोजनाले अब बाढीको समयमै सूचना दिने अत्याधुनिक स्वचालित प्रणाली जडान गरेर जोखिम न्यूनीकरणमा महत्वपूर्ण कदम चालेको छ। तनहुँ हाइड्रोपावर लिमिटेडले बाँध क्षेत्रभन्दा माथिल्लो भूभागमा बाढी नाप्ने डिजिटल सेन्सर र वायरलेस प्रविधि जडान गरेको छ, जसबाट प्राप्त डेटा करिब ४ किलोमिटर तल रहेको मुख्य साइट अफिसमा वास्तविक समयमा अवलोकन गर्न सकिन्छ।

यस प्रविधिबाट प्रत्येक सेकेन्डमा बाढीको सतह मापन हुन्छ, जसले नदीको प्रवाह र जलस्तरको सटिक अवस्था देखाउँछ। नेपालमा यस्तो प्रविधिको पहिलोपटक सफल प्रयोग भएको हो। यस प्रणालीले जलस्तरले पूर्वनिर्धारित सीमालाई पार गरेपछि स्वचालित साइरन बजाउने र सरोकारवाला निकाय तथा कर्मचारीहरूलाई एसएमएस अलर्ट पठाउने सुविधा राखेको छ। यस्तो सुविधा निर्माण क्षेत्रमा रहेका श्रमिकहरूलाई तत्काल सतर्क गराउने र जनधनको सम्भावित क्षति रोक्न सहयोग गर्ने उद्देश्यले विकास गरिएको हो।

आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार अस्थायी बाँध रहेको क्षेत्र भौगोलिक दृष्टिले निकै जटिल छ। विशेष गरी रातको समयमा बाढीको अवस्था बुझ्न कर्मचारी पठाउनु जोखिमपूर्ण हुन्थ्यो। तर अब, साइट अफिसमै बसेर जुनसुकै समयमा बाढीको अवस्था बुझ्न सकिने हुँदा यो प्रविधि सुरक्षा र व्यवस्थापन दुवै दृष्टिले निकै प्रभावकारी सावित भएको छ। यो प्रणाली इनोभेटिभ इन्जिनियरिङ सर्भिसेज प्रा.लि. द्वारा डिजाइन र कार्यान्वयन गरिएको हो। कम्पनीका प्रबन्ध निर्देशक अनुप खनालका अनुसार, यो प्रविधि न केवल निर्माणाधीन आयोजनामा, तर सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमा पनि प्रयोग गर्न सकिने अत्यन्तै उपयोगी उपाय हो।

खनालले भने, “यसले जलस्तर नियन्त्रण, जोखिम मूल्यांकन, र समयमै प्रतिक्रिया दिने संयन्त्र विकासमा सहयोग पु-याउँछ। नेपालमा विपद् व्यवस्थापन प्रविधिको सन्दर्भमा यो उल्लेखनीय प्रगति हो।” तनहुँ हाइड्रोपावरमा प्रयोग गरिएको यो प्रविधिको सफलता नेपालमा निर्माणाधीन वा सञ्चालनमा रहेका अन्य जलविद्युत् आयोजना र सम्भावित बाढी प्रभावित क्षेत्रमा पनि विस्तार गर्न सकिने सम्भावना देखिएको छ। विशेषगरी, मौसम प्रतिकूल हुँदा मोबाइल नेटवर्क नचल्ने अवस्थालाई ध्यानमा राखेर वायरलेस प्रणाली प्रयोग गरिएको हो, जसले आपत्कालीन स्थितिमा समेत निरन्तर कार्य सुनिश्चित गर्छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।