रसुवागढी
चीनसँगको उत्तरी नाका तातोपानी र रसुवागढीमा आयात–निर्यात गर्न नयाँ कार्यतालिका लागू गरिने भएको छ । रसुवागढीदेखि स्याफ्रुबेँसीसम्म सडक विस्तार गर्न लागिएकाले महिनामा १५ दिन सवारीसाधन आवातजावत बन्द हुँदै छ । चिनियाँ कम्पनीले सडक विस्तारकाे काम गर्न प्रत्येक अंग्रेजी महिनाकाे १ देखि १५ तारिखसम्म सवारी गुड्न निषेध गर्नेछ । सडक विस्तार गर्न एक वर्ष लाग्ने अनुमान गरिएको छ । बाँकी १५ दिन नाका नियमित रहनेछ । अप्रिल १ तारिखबाट काम सुरु गरेर २०२७ अप्रिल १५ सम्म काम सम्पन्न गर्ने चिनियाँ कम्पनीको लक्ष्य रहेकाे सिगात्से सरकारले बताएको छ ।
यता, तातोपानी नाका भने सधैँ खुला रहनेछ । तर, प्रत्येक महिनाकाे २० दिन कम र १० दिन बढी कन्टेनर तातोपानी भन्सार यार्डमा आइपुग्ने कार्यतालिका रहेकाे जाङ्मुपाेर्ट भन्सारले जनाएको छ । २०२७ भित्र नयाँ खासा सहर नेपालीका लागि खुला गर्ने भएकाले त्यसकाे पुनर्निर्माण चाँडाे सक्न खासा पुनर्निर्माण गर्ने चिनियाँ कम्पनीले खासाभित्र वेलावेलामा सडक बन्द गर्ने कार्यतालिका बनाएको छ । तर, तातोपानी नाका भने गुलजार रहनेछ ।तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुँडालले तातोपानी नाका खुला रहेकाे बताए । सामाजिक सञ्जालमा तातोपानी नाका आंशिक खुला भनेर आएको हल्लाप्रति आफ्नो ध्यानाकर्षण भएको उनले जनाए । रसुवापट्टि सडकको काम सुरु भएकाले तातोपानी नाकामा आयात र पर्यटककाे चाप बढेकाे उनले प्रस्ट्याए । ‘चिनियाँ समकक्षीसँग औपचारिक बैठक भएको त छैन,’ उनले भने । तर, नाका पूर्ण रूपमा खुला रहनेछ । ठुला हाइड्रोपावरसँग सम्बन्धित उपकरण र सामान, रेडिमेड, इलेक्ट्रोनिक्स सामग्री, फलफूल र विद्युतीय गाडी आयात भइरहेको उनले बताए । पहिराेले सडक बन्द हुँदा याे वर्ष बर्खामा झन्डै तीन महिना आयात ठप्प भयाे । जसकाे प्रभाव राजस्व संकलनमा देखियाे। २४ अर्ब ४७ कराेड ५५ लाख राजस्व संकलन गर्ने लक्ष्य ५० प्रतिशत मात्रै पूरा हुने देखिएको छ । राजस्व संकलनको अवस्था देखाउँदै भन्सार अधिकृत रमेशबहादुर शाहले भने, ‘१५ चैतसम्म नाै अर्ब ६६ कराेड २२ लाख उठेकाे छ ।’ पहिराेले सडक राेकिँदा खासाबाट डाइभर्ट भएर झन्डै नाै अर्ब राजस्व मुस्ताङको काेराेला नाकामा संकलन भएकाे उनले बताए ।












