लुम्बिनी विकास कोषलाई उपलब्ध गराइएका करिब १३ करोड रुपैयाँ मूल्यका १९ ओटा विद्युतीय सवारी साधन पाँच वर्षदेखि प्रयोगविहीन अवस्थामा थन्किएका छन् । लामो समयसम्म सञ्चालन हुन नसकेपछि काठमाडौँ फिर्ता ल्याउने प्रक्रिया सुरु गरिए पनि । एसियाली विकास बैंक (एडीबी) को अनुदानमा प्राप्त पाँच ओटा बस र १४ ओटा ट्याक्सी लुम्बिनीको पर्यटन प्रवर्द्धन र वातावरणीय सुरक्षाका लागि भित्र्याइएका थिए । नेपाल सरकारले साढे तीन करोड रुपैयाँ भन्सार शुल्क बेहोरेर ल्याएका यी सवारी साधनलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनी र आसपासका बुद्धस्थलमा पर्यटक ओसार्न प्रयोग गर्ने लक्ष्य राखिएको थियो ।
तर, सञ्चालनको उचित प्रबन्ध हुन नसक्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका यी महँगा गाडीहरू खुला आकाशमुनि रहँदा जीर्ण बनेका छन् । घाम र पानीले बाहिरी भाग बिग्रिनुका साथै लामो समय चार्ज नगर्दा ब्याट्री र भित्री पार्टपुर्जाहरू समेत बिग्रिएको अवस्थामा छन् । लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठका अनुसार, नागरिक उड्डयन प्राधिकरणका लागि आवश्यक भन्दै मन्त्रालयले एक हप्ताअघि तीन ओटा बस काठमाडौँ पठाउन पत्राचार गरेको थियो । सोही आधारमा कोषले बस पठाउने प्रक्रिया अघि बढाए पनि हिजो मात्र मन्त्रालयले उक्त निर्णय कार्यान्वयन नगर्न पुनः निर्देशन दिएपछि सो प्रक्रिया रोकिएको हो ।यी सवारी साधन चार्ज गर्न एडीबीले १३ करोडकै लगानीमा निर्माण गरिदिएको छुट्टै चार्जिङ स्टेसनसमेत हाल बन्द छ । गत हप्ता विद्युत् सर्किट सट हुँदा स्टेसनमा क्षति पुगेपछि चार्जिङको समस्या थप जटिल बनेको छ ।












