काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल टेलिकमको सेवामा सुधारको काम सुरु भएको छ । सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको पहलमा टेलिकमका प्रयोगकर्ताको डेटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स काटिने अवस्था अन्त्य भएको हो । यसका साथै सबै सेवा अनलाइन गर्ने र ‘वान टाइम केवाईसी’ लागु गर्ने प्रक्रिया पनि अघि बढेको मन्त्रालयले जनाएको छ । अब प्रयोगकर्ताले लिएको डेटा प्याकेज ९० प्रतिशत खपत भएपछि सूचना प्राप्त गर्नेछन् । यससँगै ‘पे–एज–यु–गोज (PAYG) विकल्प उपलब्ध हुनेछ । जसले ग्राहकलाई डेटा सकिएपछि स्वतः शुल्क कट्ने वा नयाँ प्याकेज खरिद गर्नेबारे विकल्पसहितको छनोटको सुविधा दिनेछ । टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार हाल प्रणाली परीक्षणको चरणमा रहेको छ र चाँडै पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ । “सामान्य रूपमा भन्नु पर्दा अब डेटा सकिएपछि ग्राहकलाई इन्टरनेट प्रयोग जारी राख्ने वा नयाँ प्याकेज लिने भन्ने जानकारी दिइनेछ,” उनले भने । उनका अनुसार यूएसएसडीमार्फत खरिद गरिने डेटा प्याकमा तीनदेखि पाँच दिनभित्र यो सुविधा लागु हुनेछ भने नेपाल टेलिकमको मोबाइल एपमार्फत् सेवा प्रयोग गर्ने ग्राहकले एक सातादेखि १० दिनभित्र यसलाई अनुभव गर्न पाउनेछन् ।








