पाकिस्तान (बीबीसी) :
अमेरिका र इरानबीचको युद्धले उग्ररूप लिइरहेका बेला पाकिस्तानको प्रयासमा दुईहप्ते युद्धविरामको घोषणा भएको छ। यो सम्झौता हुनु केही घण्टा अघिसम्म पनि स्थिति अन्यौलपूर्ण थियो, तर पाकिस्तानबाट सकारात्मक संकेतहरू आइरहेका थिए।
बीबीसीसँग नाम नबताउने सर्तमा एक पाकिस्तानी स्रोतले बताएअनुसार इरान र अमेरिकाबीच सन्देश आदानप्रदान गर्न पाकिस्तानले ‘मध्यस्थकर्ता’ को रूपमा तीव्र गतिमा काम गरिरहेको थियो। पाकिस्तानको तर्फबाट यो वार्ता निकै सानो र सीमित घेराभित्र भइरहेको थियो।
स्रोतका अनुसार वार्ताको वातावरण निकै गम्भीर र तनावपूर्ण भए तापनि युद्ध रोकिनेमा सबै आशावादी थिए। पाकिस्तानको इरानसँग ऐतिहासिक र ‘भ्रातृत्वपूर्ण’ सम्बन्ध छ भने अमेरिकासँग पनि विशेष सुरक्षा सम्बन्ध रहँदै आएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानका सैन्य प्रमुख फिल्ड मार्शल असिम मुनिरबीचको व्यक्तिगत सम्बन्धले पनि यो वार्तामा काम गरेको देखिन्छ। राष्ट्रपति ट्रम्पले फिल्ड मार्शल मुनिरलाई आफ्नो प्रिय फिल्ड मार्शल भन्दै उनीसँग इरानका बारेमा धेरै राम्रो ज्ञान भएको प्रशंसासमेत गरेका थिए।
मंगलबार रातिसम्म पनि सम्झौता हुनेमा आशंका थियो। पाकिस्तानका विदेश मन्त्री इसहाक दारले संसद्मा बोल्दै स्थिति सकारात्मक भइरहेको बेला इजरायलले इरानमा र इरानले साउदी अरबमा आक्रमण गरेपछि चुनौती थपिएको बताएका थिए।
यसैबीच फिल्ड मार्शल मुनिरले साउदी अरबमा भएको आक्रमणको कडा आलोचना गर्दै यसले शान्तिको प्रयासमा बाधा पुर्याएको बताएका थिए। विश्लेषकहरूका अनुसार साउदीसँग रक्षा सम्झौता भएको पाकिस्तानको यो कडा प्रतिक्रियाले इरानमाथि दबाब बढाएको थियो।
इस्लामावादमा निर्णायक वार्ताको निम्तो
मध्यरातपछि पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत कूटनीतिक प्रयास सफल हुन लागेको संकेत दिँदै राष्ट्रपति ट्रम्पलाई दुई साताको समय थप्न र इरानलाई ‘स्ट्रेट अफ हर्मोज’ खुला गर्न आग्रह गरेका थिए।
बिहान ५ बजेतिर प्रधानमन्त्री सरिफले आधिकारिक रूपमा युद्धविराम भएको घोषणा गरे। उनले दुवै पक्षलाई आगामी शुक्रबार (अप्रिल १०) मा थप निर्णायक वार्ताका लागि इस्लामावाद निम्तोसमेत दिएका छन्। ‘हामी अझै पनि निकै सतर्क छौं, किनभने स्थिति अझै नाजुक छ। दुवै पक्षबीच अझै पनि विश्वासको कमी छ,’ स्रोतले बीबीसीलाई भन्यो।
अब सबैको नजर इस्लामावादमा हुने वार्तामा अडिएको छ। वर्षौंदेखि कट्टर दुश्मन रहेका अमेरिका र इरानलाई एउटै टेबुलमा राखेर पाकिस्तानले कस्तो सहमति जुटाउला भने हेर्न बाँकी नै छ।








