२०८३ भाद्र २९ सोमबार
Search
२०८३ भाद्र २९ सोमबार

महाकालीमा तुइन विस्थापन गर्न गएको हर्क साम्पाङको टोली घट्टे खोलामा पुल बनाउँदै

धनगढी । २०८१ को अन्त्यतिर हर्क साम्पाङले फेसबुकमार्फत एउटा आह्वान गरे, ‘दार्चुलाको तुइनको साटो झोलुङ्गे पुल बनाउने घोषणा अनुरुप रु १० देखि माथि जति सहयोग गर्न चाहनुहुन्छ, सहयोग गर्नुहोला ।’

यो आह्वानले काम गर्‍यो । साम्पाङका समर्थकहरूले स्वस्फूर्त रूपमा रकम संकलन गरे । ‘एउटा जनप्रतिनिधिले चाहेमा जे पनि गर्न सक्छ’भन्ने उदाहरण दिन साम्पाङ आफैँ र उनको प्राविधिक टोली दार्चुलाको दुर्गम व्यास गाउँपालिका पुग्यो । 

उनको लक्ष्य थियो– व्यास गाउँपालिका–२, दुम्लिङ र भारतको पिथौरागढ जोड्ने महाकाली नदीको तुइन हटाउने । तर, जब टोली फिल्डमा पुग्यो, तब वास्तविकता अर्कै देखियो ।  महाकाली नदी नेपाल र भारतबिचको अन्तर्राष्ट्रिय सीमा पनि हो । सीमा नदीमा कुनै पनि संरचना बनाउन दुवै देशको सहमति र कूटनीतिक अनुमति अनिवार्य हुन्छ । व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरका अनुसार साम्पाङको टोलीले महाकालीमा पुल बनाउन निकै प्रयत्न गरे पनि भारतको अनुमति बिना त्यो सम्भव भएन । 

‘करिब १५–२० दिन अगाडि हर्क साम्पाङको टोली तुइन विस्थापनको साइट हेर्न आएको थियो । तर महाकालीमा तुइन विस्थापन गरेर झोलुङ्गे पुल हाल्न सक्ने अवस्था भएन । भारतसँगको समन्वय र अन्तर्राष्ट्रिय सीमाका कारण त्यहाँ तत्काल काम अघि बढाउन सकिने स्थिति देखिएन,’ उनले भने । 
यसरी महाकालीमा पुल हाल्ने योजनामा कूटनीतिक अवरोध आएपछि टोलीले विकल्पको खोजी गर्‍यो । चन्दा उठाएको रकम र जनताको भरोसालाई निराश नपार्न टोलीले सोही वडाको भित्री भागमा रहेको घट्टे खोला रोज्यो । 
अहिले साम्पाङको टोलीले व्यास–२ को काठा दुम्लिङ र आसपासका गाउँलाई जोड्ने घट्टे खोलामा पुल बनाउन सुरु गरेको छ । आइतबार मात्रै हर्क साम्पाङको टोलीले त्यहाँ पुलको शिलान्यास गरेको छ । यो पुलले स्थानीय दुई–तीन वटा स–साना टोलका मानिसलाई आवतजावतमा सहज बनाउनेछ । 
यद्यपि, यो पुलले साम्पाङले सुरुमा घोषणा गरेको महाकालीको तुइन विस्थापनको मुख्य लक्ष्यलाई भने तत्काल सम्बोधन गर्दैन ।

’महाकालीमा तुइन हटाउने कुरा अहिलेलाई असम्भव जस्तै भयो । त्यसैले स्थानीय आवश्यकतालाई हेरेर घट्टे खोलामा पुल बनाउने सहमति भयो । यसले स्थानीयलाई केही राहत त दिन्छ, तर तुइनको समस्या भने जस्ताको तस्तै छ,’ उपाध्यक्ष कुँवरले भने ।  साम्पाङको करिब ३० जनाको टोलीले  काम सुरु गरिसकेको छ । गाउँपालिकाले प्राविधिक सहयोग गर्ने समन्वय गरेको छ । यो टोली खोलाको छेउमा ससाना टेन्टमा बस्ने गर्छ । कामदारहरू पनि त्यही टोलीभित्र छन् । महाकालीमा पुल बनाउन नसके पनि आफ्नो क्षेत्रमा आएर एउटा सानै भए पनि पुल बनाउन लागेकोमा स्थानीय भने खुसी नै देखिएका दुम्लिङ स्थानी युनिका बुढाथोकीले बताइन् ।  तुइन तर्ने क्रममा महाकालीमा खसेर २०४९ सालयता व्यासमा गाउँपालिका–२ मा मात्रै २३ जनाको ज्यान गइसकेको छ । 

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।