धनगढी । २०८१ को अन्त्यतिर हर्क साम्पाङले फेसबुकमार्फत एउटा आह्वान गरे, ‘दार्चुलाको तुइनको साटो झोलुङ्गे पुल बनाउने घोषणा अनुरुप रु १० देखि माथि जति सहयोग गर्न चाहनुहुन्छ, सहयोग गर्नुहोला ।’
उनको लक्ष्य थियो– व्यास गाउँपालिका–२, दुम्लिङ र भारतको पिथौरागढ जोड्ने महाकाली नदीको तुइन हटाउने । तर, जब टोली फिल्डमा पुग्यो, तब वास्तविकता अर्कै देखियो । महाकाली नदी नेपाल र भारतबिचको अन्तर्राष्ट्रिय सीमा पनि हो । सीमा नदीमा कुनै पनि संरचना बनाउन दुवै देशको सहमति र कूटनीतिक अनुमति अनिवार्य हुन्छ । व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरका अनुसार साम्पाङको टोलीले महाकालीमा पुल बनाउन निकै प्रयत्न गरे पनि भारतको अनुमति बिना त्यो सम्भव भएन ।
’महाकालीमा तुइन हटाउने कुरा अहिलेलाई असम्भव जस्तै भयो । त्यसैले स्थानीय आवश्यकतालाई हेरेर घट्टे खोलामा पुल बनाउने सहमति भयो । यसले स्थानीयलाई केही राहत त दिन्छ, तर तुइनको समस्या भने जस्ताको तस्तै छ,’ उपाध्यक्ष कुँवरले भने । साम्पाङको करिब ३० जनाको टोलीले काम सुरु गरिसकेको छ । गाउँपालिकाले प्राविधिक सहयोग गर्ने समन्वय गरेको छ । यो टोली खोलाको छेउमा ससाना टेन्टमा बस्ने गर्छ । कामदारहरू पनि त्यही टोलीभित्र छन् । महाकालीमा पुल बनाउन नसके पनि आफ्नो क्षेत्रमा आएर एउटा सानै भए पनि पुल बनाउन लागेकोमा स्थानीय भने खुसी नै देखिएका दुम्लिङ स्थानी युनिका बुढाथोकीले बताइन् । तुइन तर्ने क्रममा महाकालीमा खसेर २०४९ सालयता व्यासमा गाउँपालिका–२ मा मात्रै २३ जनाको ज्यान गइसकेको छ ।












