काठमाण्डौ, भदौ २७ : भारतमा जारी ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ आफ्नै देशमा निर्मित विशेष सुरक्षा सुविधायुक्त कारसहित नयाँदिल्ली पुगेका छन्। पुटिनको ‘अरस सेनेट’ र सीको ‘होङ्ची एन–७०१’ कारको चर्चा पनि सम्मेलनसँगै चुलिएको छ।
यी कार सामान्य विलासी कारभन्दा निकै फरक छन्। राष्ट्राध्यक्षको सुरक्षा, गोपनीयता, आधिकारिक प्रोटोकल र राष्ट्रिय औद्योगिक क्षमतालाई ध्यानमा राखेर यिनलाई विशेष रूपमा तयार गरिएको हो। त्यसैले, यस्ता कारलाई प्रायः ‘पाङ्ग्रामा गुड्ने किल्ला’ भन्ने गरिन्छ।
सी चिनफिङले प्रयोग गर्ने ‘होङ्ची एन–७०१’ चिनियाँ राष्ट्रपतिका लागि तयार गरिएको ‘लिमोजिन’ गाडी हो । चिनियाँ भाषामा ‘होङ्ची’ को अर्थ ‘रातो झन्डा’ हुन्छ । सन् १९५८ मा स्थापना भएको ‘होङ्ची’ लामो समयदेखि चीनका उच्च सरकारी अधिकारी र राज्यका औपचारिक कार्यक्रमसँग जोडिएको ब्रान्ड हो ।
‘एन–७०१’ को सबैभन्दा ठूलो विशेषता नै यसको गोपनीयता हो। यसको ‘आर्मर’ कति बाक्लो छ, सिसाले कुन तहको गोली वा विस्फोट सामना गर्न सक्छ अथवा यसमा कुन–कुन विशेष सुरक्षा प्रणाली छन् भन्ने विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
यसको इन्जिन र कार्यक्षमता (पर्फर्मेन्स) सम्बन्धी विवरण पनि आधिकारिक रूपमा पूर्ण सार्वजनिक गरिएको छैन। कतिपय रिपोर्टमा ‘भी–८’ वा ‘भी–१२’ इन्जिन प्रयोग भएको अनुमान गरिए पनि त्यसलाई निश्चित तथ्य मान्न सकिँदैन ।
कारको ठूलो र लामो आकार, ठूलो फ्रन्ट ग्रिल, क्रोम फिनिस र पछाडिको फराकिलो केबिनले यसलाई सामान्य लक्जरी सेडानभन्दा फरक बनाएको छ। विदेश भ्रमणका क्रममा झन्डा राख्नका लागि अगाडिको भागमा विशेष स्थानसमेत बनाइएको छ।
- पुटिनको ‘अरस सेनेट’
रुसी राष्ट्रपति पुटिनको आधिकारिक कार ‘अरस सेनेट’ हो। यो रुसी लक्जरी कार निर्माता ‘अरस’ ले रुसी सरकारी संस्थासँगको सहकार्यमा विकास गरेको हो। करिब सात मिटर लामो बताइने यो कार सामान्य लक्जरी सेडानभन्दा निकै ठूलो छ। यसमा ४.४ लिटर ट्विन–टर्बो ‘भी–८’ इन्जिन र हाइब्रिड प्रणाली प्रयोग भएको जानकारी पाइन्छ। यसको शक्ति करिब ५९८ हर्सपावर र टर्क करिब ८८० न्युटन मिटर रहेको बताइएको छ।
उपलब्ध विवरणअनुसार यसले शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको गति करिब ६ देखि ९ सेकेन्डमा लिन सक्छ भने यसको अधिकतम गति करिब २४९ किलोमिटर प्रतिघण्टा रहेको बताइन्छ ।
यसको आर्मर्ड (बख्तरबन्द) संस्करणमा उच्च तहको सुरक्षा प्रणाली रहेको दाबी गरिन्छ । बुलेटप्रुफ सिसा, ‘रन–फ्ल्याट’ टायर र विभिन्न आपत्कालीन सुरक्षा प्रणाली यसमा रहेको बताइन्छ। तर, राष्ट्रपतिको कारको वास्तविक सुरक्षा क्षमता र संवेदनशील प्रणालीका सबै विवरण सार्वजनिक गरिँदैन ।
कारभित्र सुरक्षा मात्र होइन, राष्ट्राध्यक्षको आरामलाई पनि विशेष ध्यान दिइएको छ। प्रिमियम छाला, काठको फिनिस, अत्याधुनिक नियन्त्रण प्रणाली, अगाडि र पछाडिको भागबीच गोप्य विभाजन तथा सिट तताउने, चिस्याउने र मसाजजस्ता सुविधाहरू रहेको विवरण सार्वजनिक भएको छ ।












