काठमाण्डौ,भदौ २८ : नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाएसँगै चार दिनसम्म मनाइने तीज पर्वको औपचारिक सुरुआत भएको छ । विशेषगरी माइती तथा दाजुभाइले छोरीचेली तथा दिदीबहिनीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ । भोलिपल्ट अर्थात् भाद्र शुक्ल तृतीयाका दिन नीराहार व्रत बस्नुपर्ने भएकाले त्यसको पूर्वतयारीस्वरूप शारीरिक शक्तिका लागि अघिल्लो रात आडिलो र मीठा परिकार दरका रूपमा खाने गरिन्छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार, गहुँको रोटी र घिउ खाने चलन रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउँछन् । शास्त्रीय मान्यताअनुसार दर दुई भाग रात छँदै खाइसक्नुपर्ने विधान छ ।
तीजलाई महिलाहरूले वर्षभरिका दुःख, पीर र मर्कालाई गीत तथा नृत्यका माध्यमबाट पोख्ने पर्वका रूपमा समेत उपयोग गर्दै आएका छन् । जन्मघरबाट कर्मघर जाँदा भोगेका वेदनालाई माइतीमा आएर दिदीबहिनीसँग साटासाट गर्ने माध्यम पनि यो पर्व बन्दै आएको छ । विगतमा नेपालमा मात्र सीमित रहेको यो पर्व पछिल्लो समय सञ्चारमाध्यमको प्रचारप्रसारसँगै भारतका विभिन्न क्षेत्रमा समेत मनाउन थालिएको छ ।












