काठमाडौं :
इन्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब किङ्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ।
महेन्द्र यादबिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१९ रन बनाएको थियो । सनराइजर्स हैदराबादले दिएको २२० रनको विजयी लक्ष्य पछाएको पन्जाब किङ्सले १८.५ ओभरमा चार विकेटको क्षतिमा २२३ रन बनाउँदै लक्ष्य पूरा गरेको हो। पन्जाब किङ्सका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक ६९ रनको अविजित पारी खेले। उनले ३३ बलमा समान ५ चौका र ५ छक्का प्रहार गरे। पहिलो विकेटका लागि ओपनरद्वय प्रियांस अर्या र प्रभसिम्रन सिंहले ९९ रनको साझेदारी गर्दै पन्जाबलाई राम्रो सुरुवात दिलाएका थिए। कुपर कोनोलीले ११ र नेहाल बडेराले १४ रन बनाउँदा शशांक सिंह १६ रनमा अविजित रहे । सनराइजर्स हैदराबादका लागि शिवाङ कुमारले सर्वाधिक ३ विकेट लिए । हर्ष दुबेले १ विकेट लिए। त्यसअघि पहिलो इनिङ्समा ब्याटिङ गरेको हैदराबादका लागि ओपनर ब्याटर अभिषेक शर्माले ७४ रनको आक्रमक पारी खेले। उनले २८ बलमा ५ चौका र ८ छक्का प्रहार गरे पहिलो विकेटका लागि अभिषेक शर्माले अर्का ओपनर ट्राभिर्स हेडसँग १२० रनको साझेदारी गरे।

हेडले २३ बलमा ३८ रन बनाए। कप्तान इशान किसनले २७ , हेनरिच क्लासेनले ३९ र अंकित बर्माले १८ रन बनाए। पञ्जाब किङ्सका लागि बलिङतर्फ अर्शदीप सिंह र शशांक सिंहले समान २-२विकेट लिए। जेभियर बारलेटले १ विकेट लिए।
पन्जाब किङ्स यो खेल जितेसँगै अपराजित यात्रा कायम राखेको छ। पञ्जाब किङ्सले ३ खेलमा जित र १ खेलमा अङ्क बाँड्दै ७ अङ्क बटुल्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ। सामान खेल खेलेको सनराइजर्स हैदराबादले भने ४ खेलमा १ जित र ३ हारसहित २ अंक बटुलेको छ। हाल सनराइजर्स हैदराबाद भने अंकतालिकाको छैटौं स्थानमा रहेको छ।
आजको दोस्रो खेल चेन्नई सुपर किङ्स र दिल्ली क्यापिटल्स बीच चेन्नईमा भइरहेको छ। तीन खेलमा जितविहीन रहेको चेन्नई आज पहिलो जित दर्ता गर्न चाहन्छ। त्यस्तै, दिल्ली भने आफ्नो तेस्रो जितको खोजीमा हुनेछ।










