एजेन्सी/ इस्लामावाद : अमेरिकी र इरानी प्रतिनिधिमण्डलबीच पाकिस्तानको राजधानी इस्लामावादमा प्रत्यक्ष वार्ता सुरु भएको छ। शनिबार साँझदेखि सुरु भएको वार्ताबारे थप सार्वजनिक गरिएको छैन।
अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् भने साथमा राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुश्नर र मध्यपूर्वका लागि विशेष दूत स्टिभ विट्कोफ सहभागी छन्। इरानी टोलीको नेतृत्व भने संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफले गरिरहेका छन्। विदेशमन्त्री अब्बास अराघचीलगायतका नेताहरू वार्तामा संलग्न छन्।
दुवै देशका आर्थिक, राजनीतिक र कानुनी प्राविधिक समितिहरूबीच पनि बैठकहरू भएका छन् भने वार्ताकारहरूसँगै विज्ञहरूको पनि सहभागिता रहेको पाकिस्तानी पत्रिका डनले जनाएको छ। इरानी सरकारले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत वार्ता सुरु भएको र आर्थिक, सैन्य, कानुनी तथा आणविक समितिहरू पनि यसमा जोडिएको पुष्टि गरेको छ।
वार्ताअघि प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानका प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। इरानी टोलीसँगको भेटमा प्रधानमन्त्रीले क्षेत्रीय र विश्व शान्तिका लागि पाकिस्तानले मध्यस्थकर्ताको भूमिका जारी राख्ने दृढ संकल्प गरेको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन्। भेटमा उपप्रधानमन्त्री इशाक दार, सेना प्रमुख फिल्ड मार्शल असिम मुनिर र गृहमन्त्री मोहसिन राजा नकवी सहभागी थिए। त्यसैगरी, अमेरिकी टोलीसँगको भेटमा प्रधानमन्त्रीले यो वार्ता क्षेत्रमा दिगो शान्तिका लागि सहयोगी हुने विश्वास गरे।
अमेरिकी उपराष्ट्रपति भान्स शनिबार बिहान १०ः३० बजे सरकारी जहाजबाट नुर खान एयरबेस उत्रिएका थिए। उनलाई पाकिस्तानी उच्च अधिकारीहरूले स्वागत गरेका थिए। इरानी टोली भने शनिबार बिहानै इस्लामावाद आइपुगेको थियो। लेबनानमा इजरायली आक्रमण रोकिने सर्तमा मात्रै तेहरान वार्तामा सहभागी हुन सहमत भएको थियो।
शुक्रबारसम्म यो वार्ता लगभग बिथोलिने अवस्थामा पुगेको थियो। सभामुख घालिबाफले लेबनानमा युद्धविराम र विदेशमा रोक्का गरिएको करिब ७ अर्ब डलर बराबरको इरानी सम्पत्ति फुकुवा हुनुपर्ने दुईवटा मुख्य सर्त राखेका थिए।
इरानले लेबनानमा हिजबुल्लाहसहित सबै मोर्चामा युद्धविराम हुनुपर्ने अडान राखेको छ भने अमेरिका र इजरायलले लेबनानमाथिको आक्रमणलाई यो युद्धविरामको दायराभन्दा बाहिर राख्न खोजेका छन्। अमेरिका प्रस्थान गर्नुअघि भान्सले वार्ता सकारात्मक हुने आशा व्यक्त गरेका थिए राष्ट्रपति ट्रम्पले इरानसँग अब धेरै विकल्प बाँकी नरहेको भन्दै वार्ता असफल भए सैन्य कारबाही हुन सक्ने कडा चेतावनी दिएका छन्।
अमेरिकाले इरानको आणविक कार्यक्रममा कडाइ गर्न चाहेको छ भने इरानले पूर्ण प्रतिबन्ध फुकुवा, आणविक अधिकारको मान्यता र रोक्का रकममा पहुँच मागिरहेको छ। यी जटिल मुद्दाहरूका कारण दुई दिनको वार्ताबाटै कुनै ठोस नतिजा निस्कनेमा विश्लेषकहरूले शंका व्यक्त गरेका छन्।












